मोरङका सीमा क्षेत्रको निरीक्षणमा गृहमन्त्री गुरुङ : ‘प्रहरीका जीर्ण भवन छिट्टै निर्माण गर्छौं’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ११:३६

विराटनगर । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक संरचनाको समस्या सरकारलाई पूर्ण रूपमा जानकारी रहेको बताएका छन् ।

उनले बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गर्दै अब प्रहरीका आवश्यक भवनहरू निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने बताए । नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुगेका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए ।

‘प्रहरीको समस्या मैले सबै बुझेको छु । धेरै ठाउँका भवन र भौतिक संरचना जीर्ण अवस्थामा छन् । यी समस्याको समाधान चाँडै गर्ने गरी सरकारले योजना बनाएको छ,’ उनले भने, ‘प्रहरीका भवनहरू यथाशीघ्र निर्माण गर्ने हाम्रो लक्ष्य हो । तर, बजेट अभावका कारण केही कठिनाइ भएको छ । स्रोत व्यवस्थापन गरेर निर्माण कार्यलाई गति दिनेछौं ।’

गृहमन्त्री गुरुङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन स्थलगत निरीक्षण आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसै उद्देश्यले कोशी प्रदेशको सीमा क्षेत्रमा आएको जानकारी दिए । उनले सीमा क्षेत्रमा सुरक्षाको अवस्था, प्रहरी परिचालन, पूर्वाधारको अवस्था तथा आवश्यक सुधारका विषयमा सम्बन्धित निकायसँग छलफल गर्ने बताए ।

उनका अनुसार सीमा क्षेत्रमा देखिएका समस्या समाधान, सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने तथा प्रहरीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउने विषयमा मन्त्रालय गम्भीर रहेको छ । गृहमन्त्री गुरुङले प्रहरी संगठनको भौतिक पूर्वाधार सुधार, सीमा सुरक्षाको सुदृढीकरण तथा आवश्यक बजेट व्यवस्थापनका विषयमा सरकारको ध्यान केन्द्रित रहेको बताए ।

काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थल ओर्लिएर उनी जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षणमा लागेका छन् । त्यसपछि उनी नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको सीमावर्ती क्षेत्रको अनुगमनमा निस्किने कार्यक्रम छ ।

गृहमन्त्री गुरुङ कोशी प्रदेशका सुनसरी र मोरङ जिल्लामा आकस्मिक छड्के अनुगमनका लागि आएका हुन् । मोरङको अनुगमन सकेर उनी सुनसरीतर्फ लाग्ने बताइएको छ । धनकुटासम्म पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो ।

गृहमन्त्री गुरुङले सीमा नाकाको अवस्था, सुरक्षा व्यवस्थापन तथा सम्भावित चोरी तस्करीका बारेमा प्रत्यक्ष जानकारी लिन अनुगमन गर्ने बताइएको छ । त्यस क्रममा उनले सुरक्षा अधिकारीहरुसँग जिल्लाको सुरक्षा अवस्था, सीमा क्षेत्रका गतिविधि तथा सम्भावित चोरी तस्करी नियन्त्रणका विषयमा पनि जानकारी लिने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.