हात्तीको आक्रमणबाट आमा र नाबालक छोराको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार ०७:२८

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणमा आमा र नाबालक छोराको मृत्यु भएको छ । घटनापछि स्थानीय बस्तीमा त्रास फैलिएको छ भने निकुञ्ज आसपासका बासिन्दा थप जोखिममा परेका छन् ।

शनिबार राति करिब ११ बजेतिर भरतपुर महानगरपालिका–२३ बेलहट्ठामा रहेको बोटे बस्तीमा जंगली हात्ती पसेर आक्रमण गरेको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त बस्तीमा आएको हात्तीले घरमा क्षति पुर्‍याउनुका साथै आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार हात्ती घरसम्म आइपुगेपछि स्थानीयले धपाउने प्रयास गरेका थिए । सोही क्रममा आगो बालिएको थियो । आगो नियन्त्रणबाहिर जाँदा कच्ची घरमा समेत आगलागी भएको छ ।

स्थानीय र प्रहरीको संयुक्त प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।

घटनापछि बेलहट्ठामा त्रास फैलिएको छ । रातको समयमा जंगली हात्ती बस्तीमै प्रवेश गर्न थालेपछि स्थानीयले सुरक्षाको माग गरेका छन् । निकुञ्जसँग सिमाना जोडिएका बस्तीमा यस्ता घटना दोहोरिने गरेको भन्दै प्रभावकारी रोकथामका उपाय अपनाउन उनीहरूको माग छ ।

प्रहरीले चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै, जंगली हात्तीलाई बस्तीबाट टाढा राख्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा नियन्त्रणका उपाय अपनाइने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.