
विराटनगर । रास्वपा सांसद पारसमणि गेलालले सामाजिक सञ्जालमा भाइरल भएको आफ्नो ‘मेयर सरुवा’ सम्बन्धी अभिव्यक्तिको बचाउ गर्दै त्यसलाई राजनीतिक विम्बको रूपमा बुझ्न आग्रह गरेका छन् ।
आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको भन्दै सांसद गेलालले जनप्रतिनिधिलाई कर्मचारीजस्तो सरुवा गर्ने कानुनी व्यवस्था नभए पनि आगामी निर्वाचनमार्फत जनताले काम नगर्ने प्रतिनिधिलाई घर पठाउन सक्ने सन्दर्भमा सरुवाकाे विषय बोलेको बताएका हुन् ।
स्थानीय तहले जनगुनासो नसुन्दा नागरिकहरू सांसदकहाँ धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले भने, ‘भिडियोमा बीचको प्रसङ्ग काटेर भ्रम छरियो । मैले त चुनावमार्फत जनताले गर्ने मूल्याङ्कनलाई ‘सरुवा’ भनेको हुँ।’ उनले आफूलाई देशभर चिनाएकोमा भाइरल भिडियोलाई सकारात्मक रूपमा लिएको समेत बताए ।
उनका अनुसार स्थानीय तहका जनप्रतिनिधिले जनगुनासा नसुनेपछि नागरिकहरू सांसदसमक्ष गुनासो गर्ने गरेका छन् । त्यही प्रसङ्ग उल्लेख गर्दै उनले चुनाव नै जनप्रतिनिधिको मूल्याङ्कन गर्ने माध्यम भएको बताएका हुन् । ‘अब निर्वाचन आउँदै छ, यदि मेयर वा अन्य जनप्रतिनिधिले जनताको काम गर्दैनन् भने उनीहरूलाई मेयरलाई सरुवा गर्ने विकल्प जनतासँग मात्र हुन्छ,’ उनले भने, ‘तर भिडियोमा बीचको प्रसङ्ग काटेर ‘मेयर सरुवा’ भन्ने शब्द मात्र राखिएकाले भ्रम सिर्जना भयो।’
गेलालले ‘सरुवा’ शब्दलाई राजनीतिक विम्बका रूपमा बुझ्नुपर्ने बताए । ‘जो जनप्रतिनिधिले काम गर्दैनन्, उनीहरूको मूल्याङ्कन जनताले गर्छन् । चुनावका बेला सेवा गर्ने प्रतिबद्धता जनाएपछि निर्वाचित भएपछि पनि जनताप्रति जवाफदेही हुनुपर्छ,’उनले भने ।

























