
विराटनगर । गृहमन्त्री सुधन गुरुङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लाहरूको सघन भ्रमणमा छन् । शनिबार बिहान विराटनगर आइपुगेका उनी म्याराथन शैलीमा अनुगमन, निरीक्षण र भेटघाटमा व्यस्त देखिएका हुन् ।
मोरङ र सुनसरीका विभिन्न क्षेत्रको भ्रमण सकेर शनिबार धनकुटाको भेडेटार पुगेका उनी आइतबार धनकुटाका सरकारी कार्यालयहरूको निरीक्षणपछि पुनः सुनसरीको धरान फर्किएका छन् ।
उनको यो भ्रमणको कुनै पूर्वनिर्धारित तालिका नभए पनि उनी जहाँ पुग्छन्, त्यहाँको सुरक्षा र प्रशासनिक अवस्थाको सूक्ष्म अवलोकन गरिरहेका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार गृहमन्त्रीको भ्रमण कार्यतालिका तत्कालै तय हुने गरेको छ । ‘उहाँ जहाँ जाने भन्नुहुन्छ, टोली त्यतै मुभ भइरहेको छ,’ घिमिरेले भने, ‘मन्त्रीज्यूको आकस्मिक निरीक्षणका लागि सबै जिल्लाका सुरक्षा युनिटहरू तयारी अवस्थामा छन् ।’
शनिबार बिहान ११ बजे बुद्ध एयरबाट विराटनगर ओर्लिएका गृहमन्त्री गुरुङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरीका भौतिक संरचनाहरू जीर्ण रहेको स्वीकार गरे । बजेट अभावका कारण नयाँ पूर्वाधार निर्माणमा चुनौती रहेको बताउँदै उनले विमानस्थलको सुरक्षामा खटिएका तालिमप्राप्त कुकुरहरूसँग केही बेर समय पनि बिताएका थिए ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका मन्त्री गुरुङले नागरिकलाई दिइने सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए । नागरिकता र राहदानी वितरणमा ढिलासुस्ती नगर्न सचेत गराउँदै उनले ‘वान स्टप सोलुसन’को अवधारणा अघि सारे । ‘यहाँ पर्याप्त जग्गा रहेछ, छुट्टाछुट्टै भवनमा भौँतारिनुपर्ने अवस्था अन्त्य गरी एउटै परिसरबाट एकीकृत सेवा दिने व्यवस्था मिलाउनुस्,’ उनले भने ।
प्रशासन कार्यालय बाहिरको हनुमान मन्दिरमा पूजा गरेर निस्किएका मन्त्री गुरुङले विराटनगरको रानीस्थित जोगवनी सीमा नाकाको निरीक्षण गरे । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य मार्गको सुरक्षा व्यवस्था, आवतजावत र निगरानी प्रणालीको अवलोकन गर्दै उनले सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षणका क्रममा उनले प्रहरी हिरासत र ब्यारेकको अवस्था बुझेका थिए । उनले सुरक्षा अधिकारीहरूलाई नागरिकले दुःख नपाउने गरी कार्यसम्पादन गर्न र शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गरे ।
मोरङको कार्यक्रम सकेर धरान पुगेका गृहमन्त्रीले त्यहाँ फरक शैली अपनाए । कुनै समय आफैँ संलग्न रहेको ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) बचाउ अभियान’का सदस्यहरूलाई उनले घरघरमै पुगेर भेटे । अभियानमा साथ दिएका पुराना सहयात्रीहरूसँगको भेटघाटपछि उनी शनिबार राति ९ बजे धनकुटाको भेडेटार पुगेका थिए ।
आइतबार बिहानै धनकुटा पुगेका मन्त्री गुरुङले ऐतिहासिक निशान मन्दिरको दर्शन गरे । त्यहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग पनि भेटघाट गरेका थिए । धनकुटाको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै उनले सेवा प्रवाह र सुरक्षा अवस्थाको जानकारी लिएका छन् ।
आइतबार दिउँसो पुनः धरान फर्किएका गृहमन्त्री भोलि सोमबार काठमाडौँ फर्कने तयारीमा छन् । उनको यो भ्रमणले तल्लो तहका सुरक्षाकर्मी र प्रशासनिक कर्मचारीहरूलाई सचेत गराउनुका साथै जनताका गुनासो सुन्ने प्रयास गरेका छन् ।



















