
विराटनगर । कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेका अनधिकृत संरचना खाली गर्न सात दिने अन्तिम सूचना जारी गरेको छ ।
गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको अनुगमन गर्दै अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएपछि अस्पताल प्रशासनले सोमबार सूचना जारी गरेकाे हाे ।
यसअघि असार ५ गते १५ दिन भित्र खाली गर्न सूचना जारी गरेकाे थियाे । साे म्यादलाई सरोकारवाला निकालये संरचना खाली गरेनन् ।
अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले ३० भन्दा बढी व्यावसायिक सटर बनाएर भाडा उठाइरहेका छन् ।
आइतबार साँझ गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले संयुक्त रूपमा निरीक्षण गर्दै अस्पतालको गुरुयोजना कार्यान्वयन गर्न र सरकारी सम्पत्तिको दोहन रोक्न जग्गा खाली गराउन निर्देशन दिएका थिए ।
प्रतिनिधिसभा बैठकमा समेत सांसद रुविना आचार्यले सरकारको ध्यानाकर्षण गराएकी थिइन् । साेमबार अस्पतालले माइकिङमार्फत पनि संरचना खाली गर्न सचेत गरेकाे थियाे ।

























