इरानका विभिन्न सहरमा अमेरिकी बमबारी

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ०६:१९

एजेन्सी । अमेरिका र इरानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाइँ रोक्ने अन्तरिम सम्झौतालाई नै ‘समाप्त’ भएको घोषणा गरेसँगै अमेरिकी सेनाले इरानका विभिन्न स्थानमा लगातार आक्रमण गरेको हो ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्यस्थित बन्दरगाह सहर बन्दर अब्बास, नजिकैको सिरिक सहर, र इरानको एक्लो नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर प्रान्तमा एकपछि अर्को विस्फोट सुनिएका छन् । संयुक्त अरब इमिरेट्सले दाबी गर्दै आएको र इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो प्रभाव कायम राख्न प्रयोग गर्ने अबु मुसा टापुमा पनि विस्फोटको आवाज सुनिएको इरानी टेलिभिजनले जनाएको छ । बुशेहरको आणविक केन्द्रमा भने कुनै क्षति नपुगेको मेहर समाचार एजेन्सीको दाबी छ ।

Advertisement

चाबाहारमा भएको एउटा विस्फोटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ट्रम्पले यसलाई अघिल्लो दिन इरानले जहाजहरूमाथि गरेको आक्रमणको बदला भएको जनाउँदै फेरि यस्तो भए झन् कडा कारबाही हुने चेतावनी दिएका छन् । अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत आक्रमणहरूको पुष्टि गर्दै स्ट्रेट अफ होर्मुजमा जलयात्राको स्वतन्त्रतामाथि इरानले पार्न सक्ने खतरालाई थप कमजोर बनाउनकै लागि कारबाही गरिएको जनाएको छ ।

कमान्डका अनुसार यो एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्गमा नागरिक जहाज र चालक दलमाथि इरानले गरेको भनिएको आक्रामकताको जिम्मेवारी तोक्ने प्रयास पनि हो । रोयटर्ससँग कुरा गर्ने एक अमेरिकी अधिकारीले आक्रमण बढी नै व्यापक बनाउने तयारी छ ।

अंकारामा भइरहेको नाटो शिखर सम्मेलनको साइडलाइनमा ट्रम्पले अमेरिकाले सम्भवतः त्यही रात इरानमाथि थप प्रहार गर्ने संकेत दिँदै यसलाई दीर्घकालीन सैन्य कारबाहीको स्वरूप नलिने बताएका थिए । साथै ‘यो काम पूर्ण रूपमा टुंग्याउन’ सक्ने संकेतसमेत उनले गरेका थिए । इरानी पक्षले ड्रोन र मिसाइलले जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै ट्रम्पले इरानको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे ।

इरान भने अन्तरिम युद्धविराम सम्झौताले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत व्यवस्थापन गर्ने अधिकार आफूलाई दिएको तर्क गर्दै आएको छ । युद्धको स्थायी समाधानका लागि भइरहेको वार्तामा इरानतर्फका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गालिबाफले धम्की र दबाबको युगको अन्त्य भइसकेको र आफूहरू नझुक्ने प्रतिक्रिया दिएका छन् ।

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पको कदमको आलोचना गर्दै यसले थप ज्यान लिने र करदाताको पैसा खेर फाल्ने चेतावनी दिएका छन् । एक महिनाअघि मात्रै झुटको आधारमा सुरु भएको युद्धलाई अन्त्य गरेको दाबी गर्ने ट्रम्पले अहिले पुनः त्यही युद्धविराम ‘सकिएको’ घोषणा गरेकोमा उनले प्रश्न उठाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×