
काठमाडौं । ‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति दिएका कैलालीका डीएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको छ ।
डीएसपी चौधरीलाई सोधपुछका लागि भनेर बोलाइएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस सुरु भएको छ । यस प्रकरणलाई लिएर सरकार तथा प्रहरी अधिकारीको व्यापक आलोचना भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख रहेका डीएसपी चौधरीलाई अर्कै विषयमा बोलाइएको र हालसालैको उनको अभिव्यक्तिका बारेमा समेत सोधपुछ हुने कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले बताए । एसपी चन्दका अनुसार यो विषय सार्वजनिक बहसमा आएकाले औपचारिक स्पष्टीकरण लिने प्रक्रिया अघि बढाइएको हो ।
घोडाघोडी नगरपालिका–५ मा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले प्रहरी संगठनको स्वतन्त्रता र पेसागत परिचयका बारेमा बोल्दै आफूहरू कुनै व्यक्ति वा दलको नभई राष्ट्रको प्रहरी भएको जिकिर गरेका थिए । उनले अन्याय र अत्याचारविरुद्ध उभिने संस्थाका रूपमा प्रहरीको भूमिका औंल्याएका थिए । आफूहरू निर्वाचित नभई लोकसेवा आयोग भिडेर आएको पनि बताएका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने कुनै पनि सरकारी कर्मचारीले पेसागत मर्यादाभन्दा बाहिर गई व्यक्ति लक्षित टिप्पणी गर्न नमिल्ने बताएका छन् । ‘सरकारी सेवामा रहेकाहरूले समयसापेक्ष व्यावसायिकता प्रदर्शन गर्नुपर्छ,’ उनले भने, ‘चर्चामा आएको प्रसंगमा माथिल्लो निकायले स्पष्टीकरण माग्नु स्वाभाविक प्रक्रिया हो ।’
उक्त घटनाले सामाजिक सञ्जालमा फरकफरक प्रतिक्रिया पैदा गरेको छ । धेरैले प्रहरी संगठनको राजनीतिक तटस्थता र स्वतन्त्र परिचयको पक्षमा बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीस्वरूप सोधपुछ हुनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् । प्रहरीको परिचय दलगत नभई पेसागत हुनुपर्ने र यस्तो निष्पक्षता नै लोकतान्त्रिक संस्थाको आधारशिला हुने भन्दै केहीले आफ्नो धारणा राखेका छन् ।
गृह मन्त्रालय र सुरक्षा निकायको भूमिकालाई लिएर पनि सामाजिक सञ्जालमा बहस चलिरहेको छ । जसमा सीमा सुरक्षा र तस्करी नियन्त्रणजस्ता संवेदनशील विषयमा प्रचारमुखी भन्दा प्रभावकारी कार्यशैली अपनाउनुपर्ने माग राखिएको छ ।
हाल डीएसपी चौधरीविरुद्धको सोधपुछ प्रक्रिया जारी रहेको भन्दै थप कारबाहीका बारेमा प्रहरीले औपचारिक जानकारी दिएको छैन । तर, सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा चलाइएको भनेर चौतर्फी आलोचना भइरहेको छ ।

























