उपचार अभावमा रहेकी अनुलाई लायन्सको सहारा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार २०:४५
उपचार अभावमा रहेकी अनुलाई लायन्सको सहारा

विराटनगर । विगत डेढ दशकदेखि विभिन्न कडा रोगसँग जुधिरहेकी विराटनगर–६ की ५८ वर्षीया अनु शर्मा कामतलाई उपचारका लागि लायन्स क्लबले आर्थिक सहयोग प्रदान गरेको छ। १५ वर्षदेखि मधुमेह तथा ६ वर्षदेखि सोरायसिस (छालाको रोग) र मोतीबिन्दुबाट पीडित कामतको आर्थिक अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ विराटनगर एक्टिभले नगद सहयोग गरेको हो।

विराटनगरकी कामतको परिवारमा सहाराको रूपमा वृद्ध आमा र २१ वर्षीया छोरी मात्र छन् । रोगको चक्रव्यूह र आर्थिक अभावले उपचारमा कठिनाइ भइरहेका बेला क्लबले कोशी अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष अनिल बरालको अध्यक्षता तथा पूर्व डिस्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि कार्कीले ‘मानवीय सेवा नै सबैभन्दा ठुलो धर्म’ भएको बताउँदै विपन्न नागरिकको जीवन रक्षाका लागि लायन्स क्लब सधैँ तत्पर रहने उल्लेख गरे ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष धना थापा कार्की, पूर्व अध्यक्ष फडिन्द्र थापा, सहसचिव सन्तोष पोद्दार, कोषाध्यक्ष गणेश साह र सह कोषाध्यक्ष किशोर घिमिरेको उपस्थिति रहेको थियो । सहयोग ग्रहण गर्दै बिरामी अनु र उनका परिवारले संकटको घडीमा लायन्स क्लबले देखाएको सहानुभूतिप्रति आभार प्रकट गरे ।

लायन्स क्लब अफ विराटनगर एक्टिभले शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.