कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा एकाबिहानै डोजर

मुलुकी खबर
पवन भण्डारी
clock२०८३ असार २९, सोमबार ०७:३०

विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना सोमबार बिहानैदेखि डोजर चलाएर भत्काइएको छ ।

अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै धमाधम सटर खाली गर्न थालेका थिए । अस्पतालले जिल्ला सुरक्षा समितिसँगको समन्वयमा सोमबार बिहान ५ बजेदेखि विराटनगर महानगरपालिका–७ को अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरेको थियो ।

सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । घटनास्थलमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लगायतका सुरक्षा अधिकारी खटिएका थिए ।

एसपी कटवालले अस्पतालको जग्गा कब्जा गरेर विभिन्न संघ संस्थाले व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको संरचना डोजर लगाएर भत्काइएको जानकारी दिए । अस्पतालको जग्गा अतिक्रमण गर्दै विभिन्न संघ संस्थाले व्यावसायिक प्रयोजनका लागि संरचना बनाएर भाडामा लगाएका थिए ।

सटर भाडामा लगाएको आम्दानी अस्पतालले नभइकन तिनै संघ संस्थाले लिने गरेका थिए । अतिक्रमित जग्गा खाली गराउनुपर्ने र अस्पतालले प्रयोग गर्ने वातावरण बनाउनुपर्ने आवाज लामो समयदेखि उठिरहेको थियो ।

अस्पतालको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका थिए । ती संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सकलगायत तेस्रो पक्षलाई भाडामा दिएका थिए । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो ।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिएका थिए । त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । जसको म्याद सोमबार सकिएको छ । म्याद सकिएसँगै एकाबिहानैबाट डोजर परिचालन गरिएको हो ।

अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएका थिए । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सबै अतिक्रमित संरचना हटाएर जग्गा आफ्नै सेवा विस्तार र संस्थागत प्रयोजनमा उपयोग गरिने बताए । जथाभावी निर्माण गरिएका संरचना डोजर चलाएर भत्काइएपछि वर्षौंदेखिको अतिक्रमण अन्त्य भई अस्पतालले आफ्नो सम्पत्ति निर्वाध रूपमा उपयोग गर्न पाउने उनको भनाइ छ ।

संघ संस्थाहरुले पञ्चायतकालीन समयदेखि नै कोशीको जग्गा हडपेर आफूले प्रयोग गर्दै संरचना बनाएर भाडामा लगाएका थिए । नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक र गणेश मन्दिरको संरचना भने तत्कालका लागि भत्काइएको छैन । व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका संरचना मात्रै भत्काइएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.