
एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा सोमबार राति भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी मानिस घाइते भएका छन् ।
‘रोङ बियर ना लात फ्राओ’ नामक चर्चित रेस्टुरेन्ट तथा बारमा आगलागी भएको हो । प्रधानमन्त्री अनुटिन चानविराकुलले आफैं घटनास्थल पुगेर निरीक्षण गरेपछि मृतकहरूमा ९ पुरुष र १८ महिला रहेको जानकारी दिए । घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरी उपचार गरिँदैछ ।
स्थानीय समयअनुसार राति करिब साढे एघार बजे आगो लागेको खबर पाएपछि उद्धरकर्मीको टोली तुरुन्तै घटनास्थल पुगेको थियो । तर, टोली पुग्दासम्म बारको मुख्य ढोकाबाट आगोको ठूलो ज्वाला निस्किरहेको र त्रसित मानिसहरू चिच्याउँदै बाहिर निस्कने प्रयास गरिरहेको दृश्य देखिएको थियो ।
सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा केही व्यक्तिको शरीरमै आगो सल्किएको मार्मिक दृश्य समेत रेकर्ड भएको छ । आधा घण्टाभित्रै आगो नियन्त्रणमा आए पनि त्यतिञ्जेल ठूलो जनधनको क्षति भइसकेको थियो । थाइ सञ्चारमाध्यमहरूका अनुसार अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका गरिएको छ ।
अधिकारीहरूका अनुसार बारको मुख्य विद्युतीय स्विचबाट सुरु भएको आगोले क्षणभरमै विस्फोटजस्तो रूप लिएको थियो । धेरैजसो पीडितले सुरक्षित बाहिर निस्कनुको सट्टा भवनभित्रकै शौचालयमा शरण खोज्दा धुवाँले गर्दा निसासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बैंककका गभर्नर चाटचार्ट सित्तिपुन्टका अनुसार बारभित्र राखिएका ज्वलनशील सामग्रीले आगो द्रुत गतिमा फैलिन मद्दत गर्यो । साथै, आपत्कालीन निकासको अगाडि राखिएका स्टल र टेबलले उद्धार कार्यमा समेत बाधा पुर्याएको बताइएको छ ।
घटनास्थल नजिकैबाट एक चालकले झ्याल फोरेर दुई जनालाई सकुशल बचाएको समेत जनाइएको छ । फरेन्सिक टोलीले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान जारी राखेको छ ।



















