
एजेन्सी । इरानले आफूविरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गर्ने खाडी राष्ट्रहरूलाई प्रत्यक्ष जवाफी कारबाहीको चेतावनी दिएको छ ।
अमेरिकी आक्रमणपछि सोमबार इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनालाई आफ्नो भूमि वा सैन्य अड्डा उपलब्ध गराउने देशहरूलाई सम्भावित लक्ष्य मानिने उल्लेख गरिएको बीबीसीले जनाएको छ । सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक विज्ञप्तिमा इरानले युद्धविराम सम्झौताको २५ दिन नबित्दै अमेरिकाले त्यसका प्रमुख प्रावधानहरू उल्लंघन गरेको आरोप लगाएको छ ।
मन्त्रालयका अनुसार अमेरिकी आक्रमणबाट यातायात पूर्वाधार, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवनलगायत सरकारी संरचनामा क्षति पुगेको छ । इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ ।
विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि छिमेकी राष्ट्रले आक्रमणकारी शक्तिलाई आफ्नो भू–भाग वा सैन्य सुविधा प्रयोग गर्न नदिनुपर्ने दायित्व रहेको पनि स्मरण गराएको छ । साथै, इरानविरुद्ध हुने आक्रमणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने वा सहयोग पुर्याउने कुनै पनि स्थानलाई आफ्ना सशस्त्र बलले प्रतिकारात्मक कारबाहीको दायरामा राख्ने स्पष्ट चेतावनी दिएको छ ।



















