
काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ । तत्काललाई सवारी आवागमन प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म राजमार्गमा सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको हो । वर्षाका कारण रोशी खोलामा बहाव बढ्न सक्ने तथा राजमार्गमा जोखिम उत्पन्न हुन सक्ने भएकाले सुरक्षा सतर्कतास्वरूप आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि आवश्यक जाँचबुझ गरी अर्को सूचनामार्फत राजमार्ग पुनः सञ्चालनमा आएको जानकारी गराइनेछ । यात्रामा निस्किनुअघि सडकको अवस्था बुझ्न नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

























