
काठमाडौं । लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख मार्ग बन्द भएका छन् । जोखिम बढेपछि लामो दूरीका सार्वजनिक सवारीसाधनलाई बसपार्क तथा होल्डिङ क्षेत्रमा नै रोकिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने सवारीसाधन हाल सञ्चालनमा आउन दिइएको छैन । सोमबार रातिदेखि रात्रिकालीन सवारी रोकिएको थियो भने मंगलबार बिहानदेखि दिवाकालीन सवारीसमेत सञ्चालन गर्न रोक लगाइएको छ ।
नागढुंगा–मुग्लिन–नारायणगढ सडक खण्ड चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको छ । बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटारमा लेदोसहित पहिरो गएपछि उक्त सडकमा पनि यातायात ठप्प भएको छ ।
यस्तै, फर्पिङ–फाखेल–सिस्नेरी सडक पनि अवरुद्ध छ । कान्ति लोकपथमा पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले मकवानपुर प्रशासनसँग समन्वय गरेर मंगलबार बिहान ५ बजेदेखि असार ३१ गते बिहान ६ बजेसम्म सार्वजनिक तथा निजी सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालका अनुसार पाङ्दुरे र टाकुन्जे क्षेत्रमा पहिरोको उच्च जोखिम देखिएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो ।
उता, मुग्लिन–नारायणगढ सडक खण्डमा सोमबार साँझदेखि नै विभिन्न स्थानमा पहिरो र लेदो खस्न थालेको थियो । बीच बाटोमा रोकिएका केही सवारीलाई रातिसम्म सडक सफा गरेर गन्तव्यतर्फ पठाइए पनि निरन्तर वर्षा जारी रहेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार जलवी क्षेत्रसहित अन्य स्थानमा पुनः पहिरो झरेको छ । सडक खुलाउन डोजर र जनशक्ति परिचालन गरिए पनि मौसम प्रतिकूल रहेकाले तत्काल सञ्चालनको अवस्था नरहेको जनाएको छ ।
प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, मौसम तथा सडक अवस्थाका बारेमा आधिकारिक सूचना पछ्याउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न सर्वसाधारणसँग आग्रह गरेको छ । यात्राका क्रममा आवश्यक परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ वा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।



















