आधुनिकताको दौडमा पछि परे विराटनगरका पुराना बजार, उठाउने कसरी ?

Share this
767shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार ३१, बुधबार ०६:३०

विराटनगर । कुनै समय नेपालकै प्रमुख आर्थिक केन्द्र र औद्योगिक क्रान्तिको जग बसालेकाे विराटनगर अहिले आधुनिकताको तीव्र दौडमा छ । तर,यो दौडसँगै विराटनगरलाई विराटनगर बनाउने पुराना बजारले बिस्तारै आफ्नो मौलिकता गुमाउँदैछन् । गोग्राहा बजारबाट सुरु भएको  विराटनगरकाे व्यापारिक इतिहास आज आधुनिक सपिङ कम्प्लेक्स र डिजिटल कारोबारतर्फ उन्मुख भएकाे छ ।  पुराना बजारले अझै पूर्वी नेपालको व्यापारिक धरोहरलाई जीवितै राखेका छन् ।

औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित विराटनगर केवल ठूला उद्योगका कारण मात्र चर्चित बनेको होइन । यसको पहिचान शताब्दीयौं देखि यहाँका रैथाने बजारहरूसँग गांसिएको छ । आज पनि मुख्य बजार, गुद्री बजार र सीमावर्ती व्यापारिक मार्गले सहरको आर्थिक जीवन चलाइरहेका छन् ।

विराटनगरको पुरानो नाम गोग्राहा हाे ।  वि.स‍‍.१९७१ मा रंगेलीबाट मोरङको सदरमुकाम गोग्राहामा सारेपछि यस क्षेत्रको व्यापारिक विस्तार सुरु भएको थियाे । सदरमुकाम सरेपछि नाम विराटनगर राखियो । सन् १९३६ मा विराटनगर जुट मिल स्थापना भएपछि यहाँको इतिहासले नयाँ मोड लियो । देशकै पहिलो उद्योग स्थापनासँगै हजारौं श्रमिक, व्यापारी र उद्यमीहरू विराटनगरमा केन्द्रित भए । त्यससँगै मुख्य बजार, गुद्री, कपडा पसल, खाद्यान्न व्यापार र भारतीय सीमासँग जोडिएको आयात–निर्यात व्यवसायले तीव्र गति लियो ।

विराटनगरको बजार केवल किनबेच गर्ने थलो मात्र होइन, यो त नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक चेतनाको साक्षी पनि हो । इतिहासकार एवम् भाषाशास्त्री कृष्ण पोखरेलले एक अन्तर्वार्तामा उल्लेख गरे अनुसार विराटनगरमा रोपिएको बीउ पछि लोकतान्त्रिक आन्दोलनको विशाल वृक्ष बन्यो । पुराना बजार र औद्योगिक क्षेत्र वरिपरिको वातावरण नै नेपालको श्रमिक आन्दोलन र राजनीतिक परिवर्तनको मुख्य केन्द्र बनेको इतिहास छ ।

विराटनगरका पुराना बजारहरू आधुनिक कंक्रिटका संरचनाले घेरिदै गएका छन् । नयाँ पुस्ता डिजिटल कारोबारतर्फ आकर्षित भइरहँदा पुराना व्यापारीहरू भने आफ्ना परम्परागत ग्राहक जोगाउन संघर्षरत छन् ।

वि.सं. २०३० देखि व्यवस्थित रूपमा सञ्चालनमा आएको र विराटनगरको सबैभन्दा पुरानो तथा चल्तीको तरकारी बजारको रूपमा चिनिएको गुद्री बजार अहिले अव्यवस्थित पार्किङ, साँघुरो सडक र फोहोर व्यवस्थापनको चपेटामा परेको छ ।

महानगरले यसलाई आधुनिक कम्प्लेक्स बनाउने बताएपनि प्रक्रिया अघि बढेकाे छैन । कपडा, सुनचाँदी र खाद्यान्नको मुख्य केन्द्र मानिने मेन रोड र शनी मन्दिर लाइनमा पार्किङको चरम अभाव छ । नजिकै भारतीय बजार जोगबनी रहेका कारण ग्राहकहरू उतै जाने हुँदा यहाँका रैथाने व्यापारीहरू मारमा परेका छन् । कुनै समय खुला हाटबजार लाग्ने ऐतिहासिक घाँस बजार र बुधहाट चौकहरू अहिले कंक्रिटका व्यावसायिक भवनमा परिणत भइसकेका छन्, जसले गर्दा बजारको त्यो पुरानो खुलापन र मौलिक रौनक हराउँदै गएको पुराना बुढापाकाहरू बताउँछन् ।

स्थानीय सरकारको रूपमा सहरको समग्र पूर्वाधार, बजार अनुगमन र ऐतिहासिक सम्पदा जोगाउने मुख्य जिम्मेवारी बोकेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका ऐतिहासिक बजारहरू नगरका धरोहर भएको बताएका छन् ।

उनले गुद्री बजारलगायतका पुराना क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउने प्रक्रिया जारी रहेको जानकारी दिदै पार्किङको समस्या समाधान गर्न वान वे र निश्चित पार्किङ जोनहरू तोकिने बताए । जोगबनीतर्फ जाने नेपाली ग्राहकलाई देशभित्रै रोक्न स्वदेशी बजार प्रवर्द्धनका कार्यक्रम ल्याउने प्रयास भइरहेको र ऐतिहासिक पहिचान पनि जोगिने तथा व्यापार पनि फस्टाउने गरी नयाँ गुरुयोजना बनिरहेको मेयर कोइरालाको भनाइ छ ।

अर्कोतर्फ, सन् १९५१ मा स्थापना भएको र नेपालकै सबैभन्दा पुरानो उद्योग–वाणिज्य संस्थामध्ये एक मानिने मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले विराटनगरलाई नेपालको ऐतिहासिक, औद्योगिक तथा पूर्वी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा वर्णन गरेका छन् ।

विराटनगरको ऐतिहासिक बजार अहिले नीतिगत अस्पष्टता र पूर्वाधार अभावका कारण संकटमा परेको उनकाे गुनासो छ । भन्सार नाका कडा नहुँदा र सीमावर्ती बजारको अवैध प्रभावले गर्दा पुराना व्यापारीहरू पलायन हुने अवस्था आएको उनले बताए । महानगरले कर मात्र लिने तर बजारमा ढल, बत्ती र पार्किङको न्यूनतम सुविधा पनि नदिने हो भने ऐतिहासिक बजारहरू इतिहासमै सीमित हुने भन्दै राठीले सरकारसँग बोर्डर मार्केटसँग प्रतिस्पर्धा गर्न सक्ने विशेष आर्थिक प्याकेज दिनुपर्ने बताए ।

बजारको शान्ति सुरक्षा, कालोबजारी नियन्त्रण र उपभोक्ता हित संरक्षणको पाटो हेर्ने प्रमुख निकाय जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ताको हित र सुरक्षा पहिलो सर्त भएको बताएकाे छ ।

पहिले खुला हाटबजारमा सीमित कारोबार अहिले सुपरमार्केट, सपिङ कम्प्लेक्स र अनलाइन सपिङसम्म विस्तार भइसकेको छ । याे परिवर्तनले पुराना बजारको चहलपहल केही घटाए पनि गुद्री, मुख्य बजार तथा पुराना व्यापारिक गल्लीहरू अझै पनि हजारौं मानिसको दैनिक जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएका छन् ।

सीमावर्ती बजार जोगबनीभन्दा सस्तो, सहज र गुणस्तरीय सामान विराटनगरकै पुराना बजारमा उपलब्ध गराउने वातावरण बनाउनु आजको मुख्य आवश्यकता हो । पुराना बजार क्षेत्रमा ढल निकास,  फराकिलाे सडक, र व्यवस्थित पार्किङको तत्काल व्यवस्था गरिनुपर्छ । रैथाने स्वाद र उत्पादनलाई ब्रान्डिङ गरेर सांस्कृतिक पर्यटनसँग जोड्न सके मात्र बजारको ऐतिहासिक महत्व र आर्थिक गतिविधि दुवैलाई दीर्घकालीन रूपमा जोगाउन सकिने व्यापारीहरुको बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.