
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका प्रस्थान गरेका छन् । कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल पिपुल्स एसेम्बली’ द्वारा आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
श्रीलंकाको कोलम्बोमा असार ३२ देखि साउन २ गतेसम्म आयोजना हुने सम्मेलनमा एसियाली क्षेत्रका विभिन्न मुलुकका वामपन्थी नेताहरूको जमघट हुनेछ ।
प्रचण्डको नेतृत्वमा श्रीलंका गएको नेपाली प्रतिनिधिमण्डलमा पार्टीका वरिष्ठ नेताहरू सहभागी छन् । टोलीमा नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल रहेका छन् ।
तीन दिनसम्म चल्ने यस सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसियाका कम्युनिस्ट तथा समाजवादी दलका प्रतिनिधिहरूको सहभागिता रहने छ ।



















