कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १९:२१

विराटनगर । नेपाली कांग्रेसले प्रदेश तहमा नेकपा (एमाले)सँगको सहकार्य तोड्ने भएपछि सातवटै प्रदेश सरकारको समीकरण फेरिने भएको छ । कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने निर्णय गरेपछि कोशीमा मुख्यमन्त्री एवं एमाले सचिव हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको छ ।

२०८१ असार १७ गतेको कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संघ र प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सहमति अनुसार सञ्चालन भइरहेको संघीय सरकार जेनजी आन्दोलनको बलमा अपदस्थ भयो । प्रदेशमा दुई दलबीच सहकार्य जारी थियो । बुधबार कांग्रेसले सहकार्य तोड्ने निर्णय गरेपछि कोशीमा कांग्रेसका मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा २०८१ भदौ २८ गते नेपाली कांग्रेस सहभागि भएको थियो । सम्भवतः बिहीबार कांग्रेसका मन्त्रीहरुले राजीनामा दिने छन् ।

पार्टी केन्द्रले एमालेसँगको सहकार्य तोड्ने निर्णय गरे पनि कांग्रेस कोशी प्रदेश संसदीय दलले आधिकारिक जानकारी नआएको बताएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार पार्टीको निर्णयका विषयमा अनौपचारिक जानकारी आएको छैन । मौखिम जानकारी आएपछि पार्टीको कार्यदलको बैठक बोलाइएको उनले बताए ।

कांग्रेसले बनाएको कार्यदलमा पार्टी प्रदेश पदाधिकारी र संसदीय दलका पदाधिकारी र सिनियर नेता सदस्य छन् । ‘अहिले आधिकारिक कुनै निर्णय भएको छैन । बिहीबार भोलि पार्टीको कार्यदलको बैठक बोलाइएको छ । आधिकारिक निर्णय पनि बिहीबार नै होला,’ प्रमुख सचेतक तामाङले भने ।

एमालेका प्रमुख सचेतक रमेशकुमार बस्नेतका अनुसार एमाले पनि कांग्रेसको स्पष्ट निर्णय पर्खिएर बसेको छ । आधिकारिक विषय बाहिर आएपछि एमालेले थप विषयमा छलफल अघि बढाउने उनले बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसद छन् । दुई ठूला दलबीचको सहकार्य टुटेपछि अब १७ सिट भएको ‘निर्णायक शक्ति’ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)तिर दुवै दलको नजर सोझिएको छ ।

सरकार टिकाउनका लागि एमालेलाई नेकपाको साथ अनिवार्य छ । नयाँ सरकार बनाउन कांग्रेसका लागि पनि नेकपाकै समर्थन निर्णायक हुनेछ । ४० सिट भएको एमालेले १७ सिटको नेकपासँग मिलेमा झण्डै दुईतिहाइ पुग्ने बलियो अवस्था रहन्छ । कांग्रेस (२९)ले नेकपा (१७) र साना दलहरूसँग मिलेर बहुमत पुर्‍याउन कसरत गर्नुपर्ने हुन्छ । यही अंकगणितका कारण एमाले र कांग्रेस दुवै दलका नेताहरूले अहिले नेकपाका नेताहरूलाई आफ्नो पक्षमा पार्न तीव्र संवाद सुरु गरेका छन् । अर्थात्, कोशीको सम्भावित सत्ता समीकरणका लागि कांग्रेस र एमालेले नेकपालाई फकाउन थालेका छन् ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अहिलेको तरल अवस्थामा आफ्नो दल ‘पर्ख र हेर’को स्थितिमा रहेको बताए । यद्यपि, उनले वैचारिक रूपमा कम्युनिष्ट घटक भएकाले कांग्रेसभन्दा एमालेसँग सहकार्य गर्न सहज हुने संकेत गरेका छन् । ‘कांग्रेसले समर्थन फिर्ता लिएपछि एमालेले कसरी प्रस्ताव अघि बढाउँछ भन्ने कुरा हेर्न बाँकी छ,’ आङ्बोले भने, ‘नेताहरूबीच संवाद भइरहे पनि औपचारिक निर्णय हुन बाँकी छ ।’

सातै प्रदेशमा कांग्रेस–एमाले गठबन्धन भंग, प्रदेश सरकारहरु संकटमा

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.