
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज (बिहीबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरमा नेपालको तराई नजिक र पूर्वतर्फ औसत स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव कायम छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली र पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, साथै कोशी, बागमती र मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
रातको समयमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाल, पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।



















