
चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारण मानिएको जंगली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ । हालसम्म २५ जनालाई मारिसकेको ‘ध्रुवे’ अब जीपीएस निगरानीमा रहेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार विशेष टोलीले बेहोस बनाउने औषधि (डार्ट) प्रयोग गरी हात्तीको घाँटीमा रेडियो कलर जडान गरेको छ । त्यसपछि दाह्रा काटेर हात्तीलाई पुनः जंगलमा छाडिएको उनले बताए ।
रेडियो कलर जडानसँगै अब ध्रुवेको अवस्थिति र गतिविधि जीपीएसमार्फत निरन्तर निगरानी गर्न सकिनेछ । यसबाट हात्ती बस्ती नजिक पुगेको जानकारी समयमै प्राप्त हुने र आवश्यक सतर्कता अपनाउन सहज हुने निकुञ्जको विश्वास छ ।
रेडियो कलर जडान कार्यमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहभागी थिए । ध्रुवेले निकुञ्ज र मध्यवर्ती क्षेत्रका विभिन्न स्थानमा हालसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्यांक छ ।
गत असार २० गते भरतपुर–२३ मा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले यसको खोजी एवं निगरानीलाई तीव्र बनाएको थियो । प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन केही समय लागेको निकुञ्जले जनाएको छ ।
निकुञ्जले स्थानीय बासिन्दालाई सतर्क रहन, आधिकारिक सूचनाको पालना गर्न तथा जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।



















