
ललितपुर । बर्डफ्लु संक्रमण नियन्त्रणमा आएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो ।
गत असार ५ गते चिडियाखानाभित्र रहेका काग, गिद्ध र हाँसलगायतका पक्षीमा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) संक्रमण पुष्टि भएपछि सुरक्षाको कारण चिडियाखाना बन्द गरिएको थियो । संक्रमण फैलिन नदिन प्रभावित पक्षीहरूको उपचार, खोरहरूको सघन सरसफाइ तथा आवश्यक जैविक सुरक्षा व्यवस्थापन गरिनुका साथै वातावरणीय नमुनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।
परीक्षणमा बर्डफ्लु भाइरस नेगेटिभ देखिएपछि चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो । बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले जैविक सुरक्षाका सबै मापदण्ड पूरा भएको निष्कर्ष निकाल्दै चिडियाखाना खोल्न स्वीकृति दिएको थियो ।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुला रहनेछ । प्रवेश गरेका आगन्तुकले भने बेलुका ५ बजेसम्म परिसर छाडिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गर्न, संक्रमण देखिएका पक्षीका खोरहरू रातो रिबनले घेरिएको क्षेत्रभित्र प्रवेश नगर्न, खुला स्थानमा खानेकुरा नखान, फोहर डस्टबिनमै व्यवस्थापन गर्न तथा परिसरभित्र अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

























