मन्त्रालय घटेपछि नयाँ जिम्मेवारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार १३:१५

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गर्दै नयाँ नयाँ जिम्मेवारी लागू गरेको छ । नयाँ संरचना साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को व्यवस्थाअनुसार मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन स्वीकृत गरेका हुन् । नयाँ संरचनाअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैंसँग राखेका छन् ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारीलाई दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय कृष्णकुमार तामाङ, भौतिक पूर्वाधार विकास मन्त्रालय डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय मधुसूदन पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय कञ्चनचन्द्र बादे तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बिन्दु श्रेष्ठले सम्हाल्ने भएका छन् ।

सरकारले मन्त्रालय पुनर्संरचना गर्दा आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय सम्हालिरहेका प्रभात तामाङ, डा. दिनेशचन्द्र देवकोटा र कृष्णकुमार तामाङलाई भने साविककै जिम्मेवारीमा निरन्तरता दिएको छ । मन्त्रालयको संख्या घटाइएपछि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विनु रायमाझी पौडेललाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाइएको छ ।

सरकारका अनुसार संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न नभएसम्म उनीहरूले आवश्यक प्रशासनिक तथा नीतिगत काममा अतिरिक्त जिम्मेवारी निर्वाह गर्नेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय पुनर्संरचना, कर्मचारी समायोजन र सचिव व्यवस्थापनको प्रक्रिया पूरा भएपछि आवश्यकता अनुसार मन्त्रीहरूको जिम्मेवारी पुनः हेरफेर गरिने जनाएको छ ।

प्रदेश सरकारले गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो । सो निर्णय नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.