
काठमाडौं । लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व, नागरिक अभियन्ता तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको शुक्रबार साँझ ७ः४० बजेतिर काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित पाण्डेलाई बिहीबार ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई घरमै ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारले जनाएको छ ।
परिवारका अनुसार उनको अन्त्येष्टि शनिबार बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिनेछ । डा. पाण्डे नेपालको सार्वजनिक जीवन, प्रशासन, अर्थव्यवस्था र लोकतान्त्रिक आन्दोलनका प्रभावशाली व्यक्तित्वका रूपमा परिचित थिए ।
उनले त्रिचन्द्र कलेजबाट स्नातक तह पूरा गरेका थिए । त्यसपछि भारतको इलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक प्रशासन र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि हासिल गरेका थिए ।
उनी २०१७ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उत्कृष्ट कार्यसम्पादनका आधारमा ३९ वर्षकै उमेरमा अर्थ मन्त्रालयको सचिव बनेका उनी २०३६ सालमा स्वेच्छाले पदबाट राजीनामा दिएका थिए ।
२०४६ सालको जनआन्दोलनपछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सरकारी सेवाबाट बाहिरिएपछि पनि उनी सुशासन, पारदर्शिता, लोकतन्त्र र नागरिक अधिकारका पक्षमा निरन्तर सक्रिय रहँदै आएका थिए ।
डा. पाण्डेले सार्वजनिक नीति, लोकतन्त्र र नेपालको विकास यात्राका बारेमा विभिन्न पुस्तक लेखेका छन् । उनका प्रकाशित कृतिमध्ये ‘एक ज्यान दुई जुनी’ (आत्मकथा), ‘नेपालको असफल विकास ः उद्देश्य र समस्यामाथिको समीक्षा’, ‘नागरिक आन्दोलन र गणतान्त्रिक चेतना’ तथा ‘लोकतन्त्रको प्राण–प्रतिष्ठा’ विशेष रूपमा चर्चित छन् ।
उनको निधनसँगै नेपालको प्रशासन, अर्थव्यवस्था र नागरिक आन्दोलनले सिद्धान्तनिष्ठ, स्पष्टवक्ता तथा अनुभवी व्यक्तित्व गुमाएको छ ।



















