मनसुन थप सक्रिय बन्दै, अति भारी वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार ०६:४७

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शनिबार रातिदेखि मुलुकका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । शनिबार बिहान देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दिउँसोदेखि अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने र रातिबाट मनसुन अझ सक्रिय हुने अनुमान गरिएको छ ।

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । पहाडी र तराईका अधिकांश क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ ।

रातको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

अति भारी वर्षासँगै बाढी, पहिरो, डुबान, नदी तथा खोलामा पानीको बहाव बढ्ने, सडक अवरुद्ध हुने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर सडकमार्गमा अनावश्यक आवतजावत नगर्न पनि अनुरोध गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगामी तीन दिन देशका अधिकांश भू–भागमा वर्षा जारी रहने जनाएको छ । मनसुन पुनः सक्रिय भएकाले विशेषगरी पूर्वी तराई, मध्यपहाड, पश्चिम नेपाल र हिमाली क्षेत्रमा वर्षा धेरै हुने अनुमान गरिएको छ ।

प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकाय र मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पालना गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×