अविरल वर्षाले बढायो जोखिमः २५ जिल्लामा ‘फ्ल्यास फ्लड’को चेतावनी, राजमार्गहरु बन्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १०:४३

काठमाडौं । अविरल वर्षाका कारण देशभरका २५ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड)को मध्यम जोखिम देखिएको छ । यससँगै पहिरो र बाढीका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । यस्तै, मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका नदी तथा खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

Advertisement

यद्यपि, देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तल रहेको छ । कनकाई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित सीमाभित्र रहेको जनाइएको छ ।

महाशाखाले आइतबार र सोमबार पनि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पानीको बहाव एकाएक बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । यसैबीच, लगातारको वर्षापछि आएको पहिरो र बाढीले देशका विभिन्न राजमार्गको यातायात प्रभावित बनेको छ ।

कोशी प्रदेशमा इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो तथा वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा भने बाढीका कारण एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ । सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ भने नुवाकोटको ककनी क्षेत्रमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ ।

गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्गमा पनि यातायात ठप्प भएको छ ।

प्रहरीले वर्षायाममा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको अवस्थाका बारेमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×