
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।
भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान र गेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्व तयारीका लागि विशेष निर्देशन जारी गरेको छ । उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक घरबाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ ।
प्राधिकरणले जोखिमको गम्भीरतालाई ध्यान दिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ वटा अति जोखिमयुक्त जिल्लाहरूमा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ ।
पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातकाे समयमा यात्रा नगर्न भनेकाे हाे । परिस्थितिको संवेदनशीलता हेरी जुनसुकै समयमा पनि सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ ।
विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । सम्भावित सडक अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ ।
नागरिकहरूको सहजताका लागि प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरीका लागि १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।



















