चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०६:२८

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (आइतबार) चार प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले देशभर मौसम बदली भएको छ ।

Advertisement

अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ । हिमाली क्षेत्रका धेरै स्थान, पहाडी क्षेत्रका अधिकांश स्थान तथा तराईका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

रातको समयमा पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान र तराईका अधिकांश स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने जनाइएको छ । महाशाखाले अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदीनालामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×