
काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१’ माथि १७ वटा संशोधन प्रस्ताव दर्ता भएकाे छ । विभिन्न दलका सांसदहरूले विधेयकको प्रस्तावनादेखि विभिन्न दफाहरूमा संशोधनको माग गरेका हुन् ।
संशोधन प्रस्तावमा विशेषगरी आदिवासी तथा परम्परागत ज्ञान र सीपको संरक्षण, समुदायको अग्राधिकार, सांस्कृतिक विविधता र विदेशमा रहेका नेपालीको सांस्कृतिक सम्पदालाई समेट्नुपर्ने उल्लेख छ ।
केही सांसदले ‘अभौतिक’ शब्दको सट्टा ‘मौलिक’ राख्नुपर्ने सुझाव समेत दिएका छन् ।
सांसदहरू परशुराम तामाङ, गणेशबहादुर विश्वकर्मा, प्रमिलाकुमारी गच्छदार, गणेश पराजुली, नरेन्द्रकुमार केरुङ, सुम्नीमा उदास, सुशील खड्का, अनुश्का श्रेष्ठ, प्रकाशचन्द्र परियारले विभिन्न दफामा संशोधन प्रस्ताव राखेका हुन् ।
यसैगरी सांसदहरू भूमिका लिम्बू सुब्बा, कुलभक्त शाक्य, ऐनबहादुर महर, गणेश कार्की, गुरुप्रसाद बराल, कमल सुवेदी, समीक्षा बास्कोटा र सुलभ खरेलले पनि संशोधन प्रस्ताव राखेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले ‘परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका’ भन्ने शब्दहरूको सट्टामा ‘पुस्तौदेखि प्रचलनमा रहेका आदिवासी तथा परम्परागत ज्ञान, सिप तथा अभ्यास जस्ता’ प्रस्तावनामै राख्नुपर्ने प्रस्ताव राखेका छन् । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रस्तावनालाई पूरै संशोधन गर्ने प्रस्ताव गरेका छन् ।
रास्वपा सांसद कमल सुबेदीले नेपालमा बसोबास गर्ने थारू, आदिवासी जनजाति लगायत विभिन्न जाति, क्षेत्र र समुदायले विकास गरेका अभौतिक सांस्कृतिक सम्पदालाई युनेस्कोको विश्वव्यापी मान्यताको आधारमा पहिचान, संरक्षण, पुनर्जीवीकरण र भविष्यमुखी प्रवर्धन गर्न वाञ्छनीय भएकाले’ ऐन बनाएको भनेर लेख्ने प्रस्ताव राखेका हुन् ।
हाल यो विधेयक संसदीय समितिमा दफावार छलफलको क्रममा छ । समितिबाट पारित भएपछि यो पुनः प्रतिनिधिसभा र राष्ट्रिय सभा हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ ।

























