
विराटनगर । विराटनगरको एभरेस्ट सेकेन्डरी स्कुलले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच स्वागत गरेको छ । आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमसहित नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले विद्यार्थीको आफ्नै मेहनतले सफलता प्राप्त हुने बताए । विद्यालयले मार्ग प्रशस्त गर्ने र उत्कृष्ट शैक्षिक वातावरण बनाइदिने उल्लेख गर्दै उनले त्यहाँबाट कति ज्ञान आर्जन गर्ने भन्ने कुरा विद्यार्थीमै निर्भर रहने स्पष्ट पारे ।
‘तिर्खाएको व्यक्तिलाई कुवासम्म पुर्याइदिने काम विद्यालयको हो, तर पानी कति पिउने भन्ने कुरा उसैमा निर्भर हुन्छ,’ प्रा.डा. थपलियाले भने, ‘आफूलाई कस्तो बनाउने भन्ने निर्णय विद्यार्थीको हातमा छ ।’ उनले पछिल्लो समय सामाजिक सञ्जाल र यसको ‘अल्गोरिदम’ले युवा पुस्तालाई क्षणिक लोकप्रियताको भ्रममा पारिरहेको चर्चा गर्दै युगौँसम्म सम्झिने गरी लोकप्रिय बन्न र रचनात्मक काममा लाग्न विद्यार्थीहरूलाई सुझाव दिए । एभरेस्टले प्रदान गरेको शैक्षिक वातावरणको अधिकतम सदुपयोग गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गीण विकासका लागि प्रशासनिक र व्यवस्थापकीय तवरबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । अहिलेको युग एउटा सहर वा देशबीचको मात्र नभई विश्वभरका विद्यार्थीबीचको प्रतिस्पर्धाको युग भएको उनको भनाइ थियो ।
‘हाम्रा विद्यार्थीले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले ‘डिजी स्कुल’, ‘एआई’ को अध्यापन र अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा सहभागिता सुनिश्चित गरेका छौँ,’ प्रिन्सिपल पुरीले भने । उनले सूचना प्रविधिको यो युगमा एआईको सदुपयोग गर्दै व्यावहारिक ज्ञान हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गरे । विगतका नतिजाहरूले एभरेस्टका विद्यार्थी अब्बल रहेको पुष्टि गरिसकेको भन्दै उनले नयाँ विद्यार्थीहरूले पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
समारोहमा कक्षा १२ का विद्यार्थीहरूले आकर्षक नृत्य, गायन तथा वाद्यवादन प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा विद्यालयको प्रशासन क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि कार्यरत कर्मचारी कृष्णकुमार ठाकुरलाई उनको दीर्घ सेवाको कदर गर्दै सम्मान समेत गरिएको थियो ।

























