
अमेरिका । फिफा विश्वकप २०२६ ले खेलकुद इतिहासमै नयाँ आर्थिक कीर्तिमान कायम गरेको छ । विश्व फुटबल महासंघ (फिफा)ले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा निकै बढी हो ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सदस्य राष्ट्रका फुटबल संघहरूलाई दिएको जानकारीअनुसार टिकट बिक्री, हस्पिटालिटी प्याकेज तथा दोस्रो बजारमा भएको टिकट कारोबारबाट अपेक्षाभन्दा धेरै आम्दानी भएको हो । टिकटको सेकेन्डरी बजारमा खरिद–बिक्री हुँदा फिफाले खरिदकर्ता र विक्रेता दुवैबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था रहेकाले पनि आम्दानी उल्लेख्य रूपमा बढेको बताइएको छ ।
यो आर्थिक सफलतापछि विश्वभरका २०० भन्दा बढी सदस्य राष्ट्रका फुटबल संघहरूले थप आर्थिक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । यद्यपि, कति रकम कुन आधारमा वितरण गर्ने भन्ने विषयमा फिफाले अझै अन्तिम निर्णय गरिसकेको छैन ।
विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचनामा परेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलता मानिएको छ । आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि उनले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन प्राप्त गरिसकेको बताइएको छ । विश्वकपबाट भएको उच्च आम्दानीका कारण थप अनुदानको अपेक्षामा रहेका धेरै सदस्य संघहरूले पनि सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त नगरेको उल्लेख गरिएको छ ।
यसैबीच, विश्वकपबाट भएको आर्थिक सफलताले भविष्यमा अमेरिकाले पुनः विश्वकप आयोजना गर्ने सम्भावना पनि बलियो बनेको छ । सन् २०३० को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र आह्वान हुने तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका फेरि विश्वकप आयोजना गर्न इच्छुक रहेको बताउँदै आगामी प्रतियोगितामा क्यानडा र मेक्सिकालाई सह–आयोजक नबनाउने धारणा सार्वजनिक गरेका छन् ।
उता, विश्वकप सकिएसँगै राष्ट्रिय टोलीहरूको आर्थिक मूल्यांकन पनि सार्वजनिक भएको छ । स्पेनले दोस्रोपटक विश्वकप उपाधि जिते पनि सबैभन्दा मूल्यवान राष्ट्रिय टोलीको सूचीमा भने फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

याहु स्पोर्टसका अनुसार फ्रान्सको टोलीको अनुमानित मूल्य १ अर्ब ७६ करोड अमेरिकी डलर रहेको छ । दोस्रो स्थानमा १ अर्ब ५८ करोड डलरसहित इंग्ल्यान्ड छ भने विश्वविजेता स्पेन १ अर्ब ४२ करोड डलरको मूल्यांकनसहित तेस्रो स्थानमा रहेको छ ।
यस्तै, पोर्चुगल १ अर्ब १७ करोड डलरसहित चौथो, जर्मनी १ अर्ब १० करोड डलरसहित पाँचौं, ब्राजिल १ अर्ब ८ करोड डलरसहित छैटौं स्थानमा छन् । अर्जेन्टिना ९३ करोड ७० लाख डलरको मूल्यांकनसहित सातौं स्थानमा रहेको छ भने नेदरल्याण्ड्स ८७ करोड ५० लाख डलरका साथ आठौं स्थानमा छ । नर्वे ६८ करोड ४० लाख डलरको मूल्यांकनसहित नवौं तथा बेल्जियम ६३ करोड ५० लाख डलरसहित दशौं स्थानमा रहेका छन् ।
विश्वकपले मैदानभित्र रोमाञ्चक प्रतिस्पर्धा मात्र नभएर मैदानबाहिर पनि अभूतपूर्व आर्थिक सफलता हासिल गरेको छ । फिफाको आम्दानीमा भएको कीर्तिमानी वृद्धिले सदस्य राष्ट्रहरूलाई थप आर्थिक सहयोगको ढोका खोल्ने छ ।

























