
खाँदबारी । संखुवासभामा लगातार परेको वर्षाका कारण खसेको पहिरोले कोशी राजमार्ग अन्तर्गत पर्ने चैनपुर–बसन्तपुर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ ।
पहिरोका कारण दुवैतर्फका सवारी साधन बीचबाटोमै रोकिएका छन् भने यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ । संखुवासभाका प्रहरी प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार धर्मदेवी नगरपालिका–४ को बाक्सिङ चोकमा ठूलो मात्रामा ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो स्थानीय शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट खसेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण विद्यालय भवन र परिसरसमेत जोखिममा परेको छ । निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र त्यसबाट विद्यालय संरचनामा क्षति पुग्न सक्ने जोखिम बढेको प्रहरीको भनाइ छ ।
सडक अवरुद्ध भएपछि चैनपुरबाट बसन्तपुर तथा बसन्तपुरबाट चैनपुरतर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधन रोकिएका छन् । यसले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ ।
प्रहरीका अनुसार सडक खुलाउने कामका लागि सडक डिभिजन कार्यालय तुम्लिङटारसँग समन्वय भइरहेको छ । पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी गरिए पनि वर्षा निरन्तर भइरहेकाले सडक खुल्न केही समय लाग्न सक्ने अनुमान गरिएको छ ।

























