
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सकुशल परिवारको सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार महिलाहरू सोमबार मध्याह्न करिब १२ः१५ बजे आफैं परिवारको सम्पर्कमा आएका हुन् । जंगलभित्र च्याउ खोज्ने क्रममा बाटो बिर्सिएपछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
उनीहरू सुरक्षित रूपमा फर्किएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त–१९ बागफाँटा पुगेर उनीहरूको अवस्था बुझेको छ । ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेका थिए । उनीहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन भएका सबै महिला सकुशल रहेको पुष्टि गरेका छन् । उनीहरू बाटो बिर्सिएर जंगलमै अलमलिएको जानकारी आएको छ ।

























