
विराटनगर । विराटनगरकी कवि तथा साहित्यकार सीमा आभासको बहुचर्चित उपन्यास ‘महायुग’ २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० को सूची (सर्टलिस्ट) मा परेकाे छ । मदन पुरस्कार गुठीले यस वर्ष प्राप्त २९८ कृतिहरूमध्येबाट उत्कृष्ट १० को नाम सार्वजनिक गर्दा आभासको उपन्यासले स्थान बनाएको हो ।
साहित्यकार आभास मदन पुरस्कारको सर्टलिस्टमा परेको यो दोस्रो पटक हो । यसअघि वि.सं. २०७३ मा उनको कविता संग्रह ‘म स्त्री अर्थात् आइमाई’ पनि उत्कृष्ट १० को सूचीमा परेकाे थियाे । गुठीले सर्टलिस्टमा परेका १० मध्येबाट एक उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्नेछ ।
विराटनगरलाई स्थायी कर्मथलो बनाउँदै आएकी आभासका यसअघि ‘साँझको संघारबाट’ (कविता संग्रह, २०६३) र ‘टापुका स्वरहरू’ (कथासंग्रह, २०६६) प्रकाशित भइसकेका छन् ।
विराटनगरबाट हालसम्म तीन जना साहित्यकारहरूले मदन पुरस्कार प्राप्त गरिसकेका छन् । स्व. महानन्द सापकोटा, स्व. बालकृष्ण पोखरेल र स्व. भानुभक्त पोखरेलले याे पुरस्कार प्राप्त गरेका थिए ।


























