
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। विभागीय मूल्यमान्यताका साथ कर्तव्य निर्वाह गर्ने दुई प्रहरी कर्मचारीलाई यो सम्मान प्रदान गरिएको हो ।
सम्मानित हुनेहरूमा सुनसरीको अस्थायी प्रहरी चौकी चाँदबेलामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल रहेका छन् ।
असई थापाले गस्तीको क्रममा ३ राउन्ड गोली लोड भएको १ थान चाइनिज पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएका थिए । आफ्नो ज्यानको प्रवाह नगरी सशस्त्र अपराधीलाई नियन्त्रणमा लिएर शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, प्रहरी हवल्दार ढकालले लागुऔषधविरुद्धको अभियानमा ठुलो सफलता हासिल गरेका थिए । उनले विभिन्न स्थानबाट ४७.२९ ग्राम ब्राउन सुगर र १८ हजार २१० ट्याब्लेट प्रतिबन्धित औषधिसहित ओसारपसारमा संलग्न व्यक्ति र सवारी साधनलाई नियन्त्रणमा लिएका थिए ।
ढकालको नेतृत्वमा कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारबाट बेवारिसे अवस्थामा रहेको ३०८ किलोग्राम गाँजा र धरानका विभिन्न स्थानबाट ४०४ किलोग्राम गाँजा बरामद गरिएको थियो । अपराध रोकथाम, अनुसन्धान र आम नागरिकमा सुरक्षाको अनुभूति गराउन उनीहरूले उत्कृष्ट कार्य गरेको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी कर्मचारीहरूले आफ्नो पदीय दायित्व र जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेकाले कोशी प्रदेश प्रहरी कार्यालयले उनीहरूको कार्यको उच्च मूल्यांकन गरी असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।

























