
एजेन्सी । बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका नेता एन्डी बर्नहम नियुक्त भएका छन् । गत शुक्रबार पार्टीको नेतृत्व सम्हालेका ५६ वर्षीय बर्नहमले सर किअर स्टार्मरलाई प्रतिस्थापन गर्दै सोमबार बेलायतको ५९औँ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
बकिङ्गम दरबारले राजा चार्ल्स तृतीयले बर्नहमलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आह्वान गरेको र उनले उक्त आह्वान स्वीकार गरेको जनाएको छ । यससँगै उनले बेलायतको नयाँ सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।
यसअघि प्रधानमन्त्री रहेका स्टार्मरले राजा चार्ल्सलाई भेटेर आफ्नो राजीनामा औपचारिक रूपमा बुझाएका थिए । डाउनिङ स्ट्रीटबाट अन्तिम सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा अर्थतन्त्र, सार्वजनिक सेवा, गरिबी न्यूनीकरण, आप्रवासन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा प्रगति भएको दाबी गरे । उनले नयाँ प्रधानमन्त्री बर्नहमलाई पूर्ण सहयोग रहने पनि बताएका छन् ।
पाँच वर्षको अवधिमा बेलायतले चौथो प्रधानमन्त्री पाएको हो । लगातार नेतृत्व परिवर्तन भइरहेका बेला बर्नहमले देशलाई राजनीतिक स्थायित्व र आर्थिक पुनर्निर्माणको नयाँ दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लेबर पार्टी अहिले हाउस अफ कमन्समा बहुमतमा रहेकाले पार्टीको नेताका रूपमा बर्नहम स्वतः प्रधानमन्त्री बनेका हुन् । उनले चाहेमा संसदीय निर्वाचन घोषणा गर्न सक्ने संवैधानिक अधिकार भए पनि तत्काल निर्वाचन गराउने संकेत दिएका छैनन् । हालको तालिका अनुसार बेलायतको अर्को आम निर्वाचन सन् २०२९ अगस्ट १५ मा हुने तय छ ।
प्रधानमन्त्री बनेपछि डाउनिङ स्ट्रीटमा पहिलो सम्बोधन गर्दै बर्नहमले आफू देशको पछिल्लो १० वर्षमा सातौँ प्रधानमन्त्री बनेको यथार्थलाई गम्भीर रूपमा लिएको बताए । उनले अब समीक्षा, सुधार र नयाँ संकल्पका साथ अघि बढ्ने समय आएको उल्लेख गर्दै बेलायतले विश्वसामु स्थिर र भरोसायोग्य राष्ट्रका रूपमा आफूलाई पुनः स्थापित गर्नुपर्ने बताए ।
उनले आफ्नो नेतृत्वमा सरकार सर्वसाधारण नागरिकको जीवनस्तर सुधार, आर्थिक अवसर विस्तार, सार्वजनिक सेवाको सुदृढीकरण र सामाजिक समानतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । साथै नयाँ राजनीतिक र आर्थिक मोडलमार्फत देशका सबै क्षेत्रलाई सक्रिय र ऊर्जाशील बनाउने लक्ष्य पनि सार्वजनिक गरे ।
बर्नहम यसअघि सन् २०१० र २०१५ मा लेबर पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका भए पनि सफल हुन सकेका थिएनन् । ग्रेटर म्यान्चेस्टरका पूर्वनगर प्रमुख रहेका उनी गत जुनमा भएको उपनिर्वाचनबाट सांसद निर्वाचित भएका थिए । अहिले पार्टी नेतृत्वसँगै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले बेलायती राजनीतिमा नयाँ अध्याय सुरु गरेका छन् ।

























