
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । अमेरिकाले क्यानडाले आफ्ना सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिराप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै यस्तो निर्णय गरेको हो ।
घोषित नयाँ ट्यारिफ ३० दिनपछि लागू हुनेछ । यससँगै उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदार अमेरिका र क्यानडाबीचको व्यापारिक तनाव थप बढ्ने देखिएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही साताभित्र थप तीव्र बनाइने बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिका–क्यानडा–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको भावना विपरीत अमेरिका एकपक्षीय रूपमा अघि बढिरहेको आरोप लगाएका छन् ।
नयाँ ट्यारिफ वाइन, हक्की स्टिक, दैनिक उपभोगका सामग्री तथा औद्योगिक प्रयोजनका सिमेन्टजस्ता वस्तुमा लागू हुनेछ । तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजस्ता क्यानडाका प्रमुख निर्यात वस्तु भने यसबाट मुक्त राखिएका छन् ।
यसअघि पनि अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, एल्युमिनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै आएको थियो । त्यस्तै, सफ्टवुड काठमा ३५ प्रतिशत र सवारीसाधनमा प्रयोग हुने गैर–अमेरिकी पार्टपुर्जामा २५ प्रतिशत शुल्क कायम छ ।
अमेरिकी कदमको जवाफमा क्यानडाले पनि अमेरिकी स्टिल, एल्युमिनियम तथा केही सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक भन्सार शुल्क लागू गरिसकेको छ । यो निर्णय राष्ट्रपति ट्रम्पले केही दिनअघि क्यानडाबाट लागेको डढेलोको धुवाँ अमेरिकी सहरसम्म पुगेको भन्दै थप ट्यारिफ लगाउने चेतावनी दिएपछि सार्वजनिक भएको हो । व्यापारिक विवाद चर्किँदै जाँदा दुई देशबीचको आर्थिक सम्बन्धमा थप दबाब पर्ने अनुमान गरिएको छ ।

























