इरान–अमेरिका तनाव चुलियो : जोर्डनमा अमेरिकी सैनिक मारिए, ट्रम्प परिवारलाई लक्षित होर्डिङ सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३, आइतबार ०८:१०

काठमाडौं । इरान र अमेरिकाबीचको तनाव थप गहिरिँदै गएको छ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका छन् भने एक सैनिक अझै बेपत्ता छन् ।

यसैबीच, इरानको राजधानी तेहरानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवारलाई लक्षित गर्दै ‘रगतको बदलामा रगत’ भन्ने सन्देशसहितको विशाल होर्डिङ सार्वजनिक भएपछि दुई देशबीचको द्वन्द्व थप चर्किएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार जुलाई १७ मा जोर्डनमा अमेरिकी तथा साझेदार सेनाले इरानी ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणको प्रतिरक्षा गरिरहेका बेला दुई सैनिकको मृत्यु भएको हो । घटनामा चार सैनिक घाइते भएका थिए । उनीहरू उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा फर्किएका छन् ।

Advertisement

मारिएका सैनिकका परिवारलाई औपचारिक जानकारी नदिइएसम्म उनीहरूको परिचय सार्वजनिक नगरिने सेन्टकमले जनाएको छ । अमेरिकी सेनाका अनुसार इरानी आक्रमणबाट अमेरिकी सैनिकको ज्यान गएको यो पहिलो घटना हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकको मृत्युलाई अत्यन्त दुःखद् घटना भन्दै उनीहरूले देशको सेवाका क्रममा सर्वोच्च बलिदान दिएको बताएका छन् । रक्षामन्त्री पिट हेगसेथले पनि सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको बलिदानले अमेरिकाको अठोट अझ बलियो बनाएको प्रतिक्रिया दिएका छन् ।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले जोर्डनको अल–अज्राकस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरेको र केही अमेरिकी सैन्य विमान पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेको थियो । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

अमेरिकी सेनाले आफ्ना सैनिकको मृत्यु भएपछि इरानविरुद्ध नयाँ हवाई आक्रमण सुरु गरिएको जनाएको छ । अमेरिकी सैन्य तथ्यांकअनुसार पछिल्लो चरणको इरान–अमेरिका द्वन्द्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ ।

यता, इरानी अधिकारीहरूले पछिल्लो २४ घण्टामा अमेरिकी आक्रमणमा १२ इरानी नागरिक मारिएको दाबी गरेका छन् । यससँगै पछिल्लो चरणको द्वन्द्वमा इरानतर्फ मृत्यु हुनेको संख्या ५० पुगेको उनीहरूको भनाइ छ । होर्मोजगान प्रान्तका एक अधिकारीले अमेरिकी मिसाइल आक्रमणबाट समुद्री पानी प्रशोधन केन्द्र ध्वस्त भएको दाबी गरेका छन् । अमेरिकी सेनाले भने त्यसका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

यही तनावका बीच तेहरानमा ट्रम्प, प्रथम महिला मेलानिया ट्रम्प तथा उनका पाँच सन्तानलाई अमेरिकी झण्डाले ढाकिएका शवपेटिकामाथि चित्रित गरिएको विशाल होर्डिङ सार्वजनिक गरिएको छ । होर्डिङमा फारसी भाषामा ‘रगतको बदलामा रगत’ भन्ने सन्देश लेखिएको छ भने पृष्ठभूमिमा जलिरहेको ह्वाइट हाउस देखाइएको छ ।

केही दिनयता ट्रम्पलाई लक्षित गरी तेहरानमा राखिएको यो दोस्रो ठूलो होर्डिङ हो । यसअघि एन्घेलाब चोकमा ट्रम्पलाई शवपेटिकाभित्र देखाइएको अर्को होर्डिङ राखिएको थियो । जसमा उनलाई मार्ने चेतावनीसमेत दिइएको गरिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार होर्डिङहरू इरानी सर्वोच्च नेता अली खामेनीको हत्यापछि प्रतिशोधको सन्देश दिन तयार पारिएका प्रचार सामग्रीको हिस्सा हुन् । इरानी नेतृत्वले दोषीमाथि बदला लिने चेतावनी दोहोर्याउँदै आएको छ ।

उता ट्रम्पले आफूमाथि कुनै आक्रमण वा हत्या प्रयास भए इरानमाथि अभूतपूर्व स्तरको सैन्य कारबाही गरिने चेतावनी यसअघि नै दिइसकेका छन् । पछिल्ला सैन्य गतिविधि, आक्रमण र सार्वजनिक चेतावनीहरूले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
चैनपुर–बसन्तपुर सडक खण्ड पहिरोले अवरुद्ध
मदन पुरस्कारको अन्तिम प्रतिस्पर्धामा १० कृति, २९८ पुस्तकबाट छनोट
विश्वकप २०३० : छ देशमा खेल, ६४ टोलीको सम्भावनाका बारेमा पनि छलफल
च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन
विश्वकपमा एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, व्यक्तिगत अवार्डमा स्पेनको दबदबा
विश्वकपको आर्थिक चमत्कार : फिफाले कमायो १५ अर्ब डलर, फ्रान्स बन्यो सबैभन्दा मूल्यवान राष्ट्रिय टोली
साउनको पहिलो सोमबार शिवालयहरुमा भक्तजनको भिड
पहिचान नखुलेको सवारीको ठक्करबाट कानेपोखरीमा एक जनाको मृत्यु
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
दमकबाट ब्राउन सुगरसहित एक जना पक्राउ 
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×