
एजेन्सी । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा कूटनीतिक पहल पनि समानान्तर रूपमा अघि बढेको छ । एकातिर दुवै देशले एकअर्कामाथि लगातार हवाई, मिसाइल र ड्रोन आक्रमण गरिरहेका छन् भने अर्कोतर्फ इरानले मध्यस्थकर्तामार्फत युद्धविरामको प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले कतारसहितका मध्यस्थकर्तामार्फत अमेरिका–इरान वार्ता पुनः सुरु गर्ने र १० दिने युद्धविरामको प्रस्ताव आएको स्वीकार गरे । यद्यपि, उनले प्रस्तावका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरेनन् ।
बाघाइले अमेरिकाले इरानका पुल, स्वास्थ्य संस्था लगायतका नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप लगाउँदै त्यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भएको बताए । उनले अमेरिकाको सैन्य कारबाहीको जवाफ इरानले कूटनीतिक र सैन्य दुवै माध्यमबाट दिइरहेको पनि स्पष्ट पारे ।
उनले जुन १८ मा भएको शान्ति समझदारीको सम्झौता स्पष्ट रहेको र त्यसलाई उल्लंघन गर्ने काम अमेरिकाबाट भएको दाबी गरे । अमेरिकाले बारम्बार प्रतिबद्धता तोडेपछि इरानले पनि आफ्ना केही दायित्व कार्यान्वयन स्थगित गर्नु परेको उनको भनाइ थियो ।
होर्मुज जलडमरूमध्यका बारेमा बोल्दै बाघाइले उक्त रणनीतिक जलमार्गमाथि इरानको पूर्ण सार्वभौमिक अधिकार रहेको र राष्ट्रिय हितविपरीत हुने कुनै पनि गतिविधि सहन नसकिने चेतावनी दिए । युद्धविरामको चर्चा भइरहेकै बेला अमेरिका र इरानबीचको सैन्य भिडन्त भने झन् तीव्र बनेको छ । युद्ध पुनः सुरु भएको करिब एक महिनापछि अमेरिकाले लगातार दशौँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ ।
इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, चाबहार, कोनारक तथा शिराज क्षेत्रमा विस्फोट भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, इस्फहान प्रान्तका अधिकारीहरूले त्यहाँ कुनै आक्रमण नभएको बताएका छन् भने बुसेहरमा सुनिएका विस्फोटका आवाज वायु रक्षा प्रणाली सक्रिय हुँदा आएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदलामा इरानले ‘धेरै गुणा ठूलो मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । पछिल्लो एक सातामा कम्तीमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिका थप आक्रामक बनेको छ ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपतिले आदेश नदिएसम्म इरानमाथिका सैन्य आक्रमण जारी रहनेछन् । यद्यपि, दुवै देशबीच कूटनीतिक संवाद पनि निरन्तर चलिरहेको अमेरिकी प्रशासनले जनाएको छ ।
यसबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । आईआरजीसीका अनुसार ‘अपरेसन नस्र–२’ अन्तर्गत तीन चरणमा गरिएको आक्रमणमा बहराइनको अल–सखिर हवाई अड्डास्थित अमेरिकी ड्रोन मर्मत केन्द्र, सलमान बन्दरगाह तथा कुवेतको आरिफजान सैन्य आधारमा रहेका अमेरिकी सुविधालाई निशाना बनाइएको थियो ।
यता अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले भने लगातार नवौँ रात पनि इरानका सैन्य कमान्ड केन्द्र, वायु रक्षा प्रणाली र तटीय निगरानी संरचनामाथि आक्रमण गरिएको जनाएको छ । इरानले उर्मिया, तब्रिज र बुसेहरमा आक्रमण भएको पुष्टि गरेको छ । तब्रिजमा एक जनाको मृत्यु भएको तथा उर्मिया र तब्रिजमा धेरै व्यक्ति घाइते भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानको कफार तेब्नित क्षेत्रमा संरचना ध्वस्त पार्नुका साथै नाबाटिये अल–फाउका क्षेत्रमा तोपबाट गोलाबारी गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । इरानका संसद् अध्यक्ष मोहम्मद बागेर गालिबाफले अमेरिकाले युद्ध रोक्ने कुरा गर्दै समानान्तर रूपमा मध्यपूर्वमा हतियार र सैन्य उपकरण पठाइरहेको भन्दै दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले इरान अमेरिकी रणनीतिका बारेमा पूर्ण रूपमा जानकार रहेको र त्यसअनुसार तयारी अवस्थामा रहेको बताएका छन् । सैन्य कारबाही निरन्तर बढिरहेका बेला मध्यस्थकर्तामार्फत युद्धविरामको प्रयास पनि जारी रहेकाले अब मध्यपूर्वको अवस्था युद्धतर्फ थप धकेलिने वा कूटनीतिक समाधानतर्फ मोडिने भन्ने प्रश्नमा अन्तर्राष्ट्रिय समुदायको चासो केन्द्रित भएको छ ।

























