
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (बुधबार) पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेकाले मौसम बदलीसँगै वर्षा हुने क्रम जारी रहनेछ । हाल गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
पहाडी क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर बदली रहने पूर्वानुमान छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र गेग्रान बहावको जोखिम बढ्न सक्ने महाशाखाको जनाएको छ । महाशाखाले नदीनाला आसपासका बासिन्दा, सडक यात्रु तथा पर्वतीय क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित रूपमा अद्यावधिक रहन अनुरोध गरेको छ ।



















