मुख्य राजमार्गमा यातायात सेवा प्रभावित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०७:१३

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्डमा सवारी आवागमन पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ ।

कोशी प्रदेशमा इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ । पाँचथरको राँके–रवि–भेडेटार सडक खण्डमा पनि यातायात ठप्प भएको छ । भोजपुर र खोटाङ जोड्ने मध्य पहाडी लोकमार्गमा भने पहिरोका कारण सवारी एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

बागमती प्रदेशमा बाढीको जोखिम बढेपछि केही राजमार्गमा निश्चित समयका लागि सवारी सञ्चालन रोकिएको छ । काभ्रेको बीपी राजमार्गमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ । मकवानपुरस्थित कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो–कोदारी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको पासाङ ल्हामु सडकमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छन् । कर्णाली प्रदेशको जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण काम प्रभावित भइरहेको जनाएको छ । लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा राजमार्ग नियन्त्रण कक्षबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×