ग्रीन रनदेखि मानव सहायता कल्याण कोषसम्म नयाँ अभियान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०९:५०

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार ग्रीन रन प्रतियोगिता, जलवायु परिवर्तनसम्बन्धी छलफल, चित्रकला प्रतियोगिता र बिरुवा वितरणजस्ता विविध कार्यक्रमको आयोजना गरेको छ । साथै, मानव सहायता कल्याण कोषको घोषणा पनि गरिएको छ ।

ललितपुरस्थित युएन पार्कबाट सुरु भएको पाँच किलोमिटरको ग्रीन रन प्रतियोगितामा झण्डै १४ सय जनाले नाम दर्ता गराएका थिए । प्रतियोगितामा मुकेशबहादुर पाल १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement

दोस्रो स्थान हासिल गरेका नरेन्द्रसिंह रावललाई २५ हजार रुपैयाँ, तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार रुपैयाँ, चौथो भएका गणेश सिंहलाई १२ हजार रुपैयाँ, पाँचौँ भएका अमृत ठकुरीलाई १० हजार रुपैयाँ तथा छैटौँ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । विजयी धावकहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सभापति थापा स्वयं पनि प्रतिस्पर्धीका रूपमा सहभागी भएका थिए । सयौँ व्यक्तिले अप्रतियोगीका रूपमा दौडमा सहभागिता जनाएका थिए । महिला प्रतिस्पर्धीहरूले निर्धारित धावन मार्ग छाडेर दौडिएका कारण उनीहरूको प्रतिस्पर्धा पुनः गराइने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

ग्रीन रनपछि जावलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्दै प्रभावकारी नीति, जनचेतना र सतर्कताको आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले ग्रीन रन सचेतनामूलक कार्यक्रम मात्र नभई जलवायु परिवर्तनविरुद्ध सामूहिक संकल्पको प्रतीक भएको बताए । उनले कांग्रेसले जलवायु परिवर्तनका विषयमा व्यापक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै जंगल, जमिन तथा प्राकृतिक स्रोत–साधनको संरक्षण र राष्ट्रिय हितअनुकूल उपयोगको अवधारणा बीपी कोइरालाले धेरैअघि नै अघि सारेको स्मरण गरे ।

सभापति थापाले दिगो विकास, प्राकृतिक स्रोत–साधनप्रतिको न्यायपूर्ण दृष्टिकोण तथा समावेशिताको अवधारणाप्रति कांग्रेस पुनः प्रतिबद्ध रहेको उल्लेख गर्दै बीपीले सात दशकअघि नै व्यवहारमै समावेशी सोच लागू गरेर मार्गदर्शन गरेको बताए । कार्यक्रमका क्रममा जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

सहभागीहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको थियो भने बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निरन्तर सञ्चालन हुने कांग्रेसले जनाएको छ । यसैबीच नेपाली कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ ।

सभापति थापाले कोषबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने जानकारी दिए । हालसम्म पार्टी सदस्यहरूबाट संकलित १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र आगामी दिनमा रकम थप विस्तार गर्दै लगिने उनले बताए ।

उनका अनुसार कोषको विस्तृत कार्यविधिसहित पार्टीका राजनीतिक अभियान र आगामी कार्यक्रमका बारेमा थप जानकारी बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिनेछ । बीपी स्मृति दिवसकै अवसरमा आयोजना हुने उक्त कार्यक्रममा कांग्रेसले हाल सञ्चालन भइरहेको ‘जरा अभियान’को समापन गर्दै नयाँ कार्यक्रम र अभियानको समेत घोषणा गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×