
विराटनगर । झापामा कारले ठक्कर दिएको साइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटना दमक नगरपालिका–४ भाइरलरोडस्थित संगम चोकमा भएको हो ।
प्रहरीका अनुसार आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५४८२ नम्बरको कारले ताराबारी नै तर्फ जाँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिएको थियो । कारले ठक्कर दिएपछि अनियन्त्रित बनेको साइकल ताराबारी नै तर्फ जाँदै गरेको प्र १–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलमा ठोक्किन पुग्यो ।
दुर्घटनामा परेर साइकलयात्री दमक नगरपालिका–३ का ५३ वर्षीय रनबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि आम्दा अस्पताल दमकमा भर्ना गरिएको थियो ।
त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि राति ९ बजे बिर्तामोडको बी एन्ड सी अस्पताल लगियो । उपचारकै क्रममा बिहीबार बिहान ४ बजेतिर विष्टको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका–८ का ४६ वर्षीय दुर्गाबहादुर बस्नेत पनि घाइते भएका छन् । सामान्य अवस्थाका उनको आम्दा अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले साइकल, मोटरसाइकल, कार र कार चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























