
विराटनगर । झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार ती परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आएपनि कानुनी स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै उनीहरू अब आधिकारिक रूपमा जग्गाधनी बनेका छन् ।
वर्षौँदेखिको आफ्नो थातथलोको कानुनी प्रमाण पाएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ । सोही अभियानअन्तर्गत अर्जुनधाराका लक्षित वर्गलाई पुर्जा वितरण गरिएको हो ।
यसअघि पनि सरकारले झापाकै बुद्धशान्ति गाउँपालिका र बर्दियाको बढैयातालका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गरेकाे थियाे ।

























