विराटनगरका स्वास्थ्य संस्थामा मौसमी बिरामीको भिड, भाइरल ज्वरो र पखालाका अत्यधिक

Share this
720shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण ७, बिहीबार १५:३१

विराटनगर । पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै विराटनगरका स्वास्थ्य संस्थामा मौसमी बिरामीको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य संस्थाहरुमा मौसमी बिरामीको भिड लाग्न थालेको हो ।

विशेष गरेर भाइरल ज्वरो र झाडा पखालाका बिरामी अत्यधिक आउने गरेको चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार भाइरल ज्वरो, रुघाखोकी र पखालाका बिरामीको संख्या दैनिक रूपमा बढिरहेको छ ।

अत्यधिक गर्मी र बेलाबेला भइरहेको वर्षासँगै विराटनगरको कोशी, नोबेल शिक्षण, विराट शिक्षण, विराट नर्सिङ होम, न्युरो लगायतका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि पुगिरहेका छन् । स्वास्थ्यकर्मीका अनुसार अहिले अधिकांश बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, रुघाखोकी, घाँटी दुख्ने, बान्ता र पखाला लाग्ने जस्ता समस्या देखिएका छन् ।

बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीमा संक्रमणको असर तुलनात्मक रूपमा बढी देखिएको चिकित्सकहरू बताउँछन् । कोशी अस्पतालमा दैनिक करिब १ हजार ५ सय भन्दा बढी बिरामी ओपीडी सेवा लिन पुग्ने गरेका छन् । तीमध्ये करिब ४ सयदेखि ५ सय जनासम्म भाइरल ज्वरो, झाडा पखाला तथा मौसमी संक्रमण देखिने गरेको चिकित्सक बताउँछन् ।

त्यस्तै, नोबेल शिक्षण अस्पतालमा पनि दैनिक ५ सयभन्दा बढी बिरामी भाइरल ज्वरो र मौसमी संक्रमणको उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको चाप बढेसँगै अस्पतालहरुको फिजिसियन र बालरोग वार्डमा उल्लेख्य भिड देखिएको छ ।

कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काका अनुसार मौसम परिवर्तनसँगै शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा भाइरल संक्रमण बढ्ने गर्छ । अहिले अस्पताल आउने अधिकांश बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, खोकी र कमजोरीका लक्षण देखिने गरेको उनले बताए । चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गर्नु उपयुक्त नहुने बताउँदै खड्काले भने प्रशस्त झोलिलो पदार्थ सेवन गर्न, आराम गर्न र आवश्यक परे चिकित्सकको परामर्श लिन आग्रह गरेका छन् ।

न्यूरो अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहका अनुसार अहिले बालबालिकामा भाइरल ज्वरो छिटो फैलिरहेको छ । विद्यालय जाने उमेरका बालबालिकामा संक्रमणको जोखिम बढी हुने भएकाले अभिभावकले विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । बच्चालाई लगातार उच्च ज्वरो आएमा, खान नखाएमा वा अत्यधिक कमजोर देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजान डा. साहले सुझाव दिए ।

स्वास्थ्यकर्मीका अनुसार मौसमको उतारचढाव, दूषित पानीको प्रयोग, अस्वस्थ खानपान, खुला खानेकुरा, लामखुट्टेको वृद्धि तथा भिडभाड हुने स्थानमा संक्रमण सजिलै फैलिनु भाइरल ज्वरो बढ्नुका प्रमुख कारण हुन् । पछिल्ला दिनमा पखालाका बिरामी पनि बढ्न थालेकाले खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

विराटनगर महानगरपालिका–१० की भूमिका राईले आफ्नो १३ वर्षीय छोरालाई उच्च ज्वरो आएपछि अस्पताल पुर्याउँदा बिरामीको अत्यधिक भिड कारण लामो समय पालो कुर्नु परेको बताइन् । चिकित्सकले मौसमी भाइरल ज्वरो भएको भन्दै आवश्यक औषधि र आराम गर्न सुझाव दिएको उनले बताइन् ।

स्वास्थ्यकर्मीहरूले उमालेको वा शुद्ध पानी मात्र पिउन, बासी तथा खुला खानेकुरा नखान, नियमित साबुनपानीले हात धुन, घर वरिपरि पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न, झुलको प्रयोग गर्न तथा चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न सुझाव दिएका छन् । चिकित्सकहरूका अनुसार सामान्य भाइरल ज्वरो तीनदेखि पाँच दिनभित्र निको हुन सक्छ ।

तर, ज्वरो लामो समयसम्म नरोकिए, सास फेर्न गाह्रो भए, लगातार पखाला लागे, शरीरमा पानीको कमी देखिए वा बिरामीको अवस्था जटिल बन्दै गएमा ढिला नगरी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने डा. खड्काले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×