विभिन्न स्थानमा वर्षाको सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार ०६:३६

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (शनिबार) विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदरभन्दा उत्तरतर्फ र पूर्वी नेपालमा सरदर स्थानकै आसपास रहेकाले मौसममा यसको प्रभाव देखिएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

महाशाखाले शनिबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने मधेशसहित कोशी प्रदेशको तराईमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति समयमा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी प्रदेशको तराई, मधेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×