युरोपमा डढेलोको कहर, स्पेन र फ्रान्समा ठूलो मानवीय संकट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार ०८:५९

एजेन्सी । स्पेन र फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब १ लाख ४० हजार मानिस विस्थापित भएका छन् । डढेलोले भयावह रूप लिएपछि स्पेन सरकारले राजधानी म्याड्रिड आसपासको क्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

स्पेनको पश्चिमी म्याड्रिड नजिकका तीन स्थानमा सुरु भएको डढेलो आपसमा गाभिएपछि आगो नियन्त्रणबाहिर गएको अधिकारीहरूले बताएका छन् । अत्यधिक गर्मी, तीव्र हावा र सुक्खा मौसमका कारण आगो झन् फैलिएको छ । म्याड्रिड क्षेत्रमा मात्रै करिब ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २० हजारलाई घरभित्रै बस्न निर्देशन दिइएको छ ।

Advertisement

यता, फ्रान्सको दक्षिण–पश्चिमी जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा डढेलो फैलिँदा १ लाख १० हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ । आगो बोर्डो सहरतर्फ फैलिन थालेपछि थप बस्ती खाली गराउने तयारी भइरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सेना परिचालन गरी उद्धार र आगो नियन्त्रणको काम तीव्र बनाएका छन् ।

प्रारम्भिक विवरणअनुसार स्पेनमा १५ हजार हेक्टरभन्दा बढी र फ्रान्समा १९ हजार हेक्टरभन्दा बढी वन क्षेत्र जलेर नष्ट भएको छ । फ्रान्समा कम्तीमा ८० घर पूर्ण रूपमा ध्वस्त भएका छन् । आगो निभाउने क्रममा ५० भन्दा बढी अग्निनियन्त्रक घाइते भएका छन् ।

युरोपेली संघले आगो नियन्त्रणका लागि विशेष विमान र हेलिकप्टर परिचालन गरेको छ । विज्ञहरूले जलवायु परिवर्तन, लगातारको लू र खडेरीका कारण युरोपमा डढेलोको जोखिम झन् बढ्दै गएको बताएका छन् । युरोपमा लागेको डढेलोको कहरले स्पेन र फ्रान्समा ठूलो मानवीय संकट निम्तिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×