४६ अर्बको पूर्वपश्चिम सडक धमाधम कालोपत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार ०६:१०

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय उल्लेखनीय गति लिएको छ ।

एसियाली विकास बैंक (एडिबी)को ४६ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको आयोजनाअन्तर्गत पूर्वी खण्डमा धमाधम कालोपत्र गर्ने काम अघि बढाइएको हो । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ ।

Advertisement

आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा बाँडिएको छ । पूर्वी खण्डमा काँकरभिट्टादेखि झापाको सीतापुरीसम्म ४५ किलोमिटर तथा पश्चिमी खण्डमा सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म ५० किलोमिटर सडक पर्छ ।

आयोजनाको पछिल्लो प्रगति विवरणअनुसार पहिलो प्याकेज (काँकरभिट्टा–सीतापुरी)मा ४७ प्रतिशत, दोस्रो प्याकेज (सीतापुरी–गोठगाउँ)मा ४२ प्रतिशत र तेस्रो प्याकेज (गोठगाउँ–लबीपुर)मा १९ प्रतिशत भौतिक प्रगति भएको छ ।

काँकरभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड)का प्रमुख सुनीलबाबु पन्तका अनुसार हालसम्म पूर्वी खण्डमा १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ । मौसमले साथ दिए दैनिक ४०० देखि ८०० मिटरसम्म कालोपत्र गर्न सकिने उनले बताए ।

उनका अनुसार निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौज्दात रहेकाले आगामी दसैँसम्म थप १५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सम्पन्न गर्ने योजना छ । वर्षायामका कारण केही अवरोध भए पनि निर्माण कार्य भने निरन्तर जारी रहेको जानकारी उनले दिए ।

विक्रम संवत २०८० माघदेखि सुरु भएको यो आयोजना २०८३ माघ १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल सडकको बीच भागमा तीन मिटर चौडाइको डिभाइडर निर्माणसँगै दुवैतर्फ सडक विस्तारको काम समानान्तर रूपमा भइरहेको आयोजनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×