
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशका पार्टी सभापति, कांग्रेसबाट बनेका मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गरेको छ ।
केन्द्रमा नेकपा (एमाले) र नेकपाबीच प्रदेश सरकार निर्माणका लागि गठबन्धनको नयाँ सहमति भएसँगै कांग्रेसले आफ्नो रणनीति तय गर्न यो छलफल अघि बढाएको हो ।
पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभापतिहरूसँग संवाद गरेका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको सचिवालयका अनुसार बदलिएको पछिल्लो राजनीतिक परिवेशमा प्रदेशहरूमा खेल्नुपर्ने भूमिका र आगामी कदमका सन्दर्भमा शीर्ष नेतृत्वसँग गहन छलफल भएको हो ।

























