
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरको सिङ्गो गाउँ पहिरोको जोखिममा परेको छ । स्थानीय बाछेर्कुमा गएको पहिरोले चिउरीडाँडा, बरबोट, हल्कुडाँडा र डाँडागाउँका २६ घरपरिवार जोखिममा परेका हुन् ।
पूर्ववडाध्यक्ष खगेन्द्र राईका अनुसार बर्सेनि जमिन भासिँदै गएकाले अजम्बरी आमा समूहको भवनसहित ती घरपरिवार उच्च जोखिममा परेका हुन् । पहिरोका कारण स्थानीय मनकुमार परियार, खड्ग परियारलगायत विस्थापित भइसकेका छन् ।
वर्षायाममा बिस्तारै जमिन भासिने र त्यसले आसपासका अन्य क्षेत्रलाई समेत तान्दै लगेकाले दिनहुँ जोखिम बढ्दै गएको राईले बताए ।
पहिरोबाट चिउरीखर्कका जसबहादुर दर्जी, देवबहादुर राई, नवराज राई, रामकाजी राई, नरेश राई, पूर्णबहादुर राई, ईश्वर राई, कृष्णकुमार राई, जुद्धबहादुर राई, शम्भु राई, उमेश राई र मनकुमारी राईको घर प्रभावित भएको छ ।
त्यस्तै, हल्कुडाँडाका परिधन राई, रघुबहादुर, श्रीप्रसाद राई, सहरमणि राई तथा बरबोटका पदमकुमार राई, हरिचन्द्र राई, ढाकमशेर राई, चतुरभक्त राई, गणेशभक्त राई र खगेन्द्र राईको घर पनि जोखिममा परेको छ ।
पहिरोको जोखिम बढेपछि गाउँलाई नै गम्भीर असर परेको वडाध्यक्ष हिमालभक्त राईले बताए । गत वर्ष सडक खन्ने क्रममा केही घरमा क्षति पुगेपछि पर्खाल लगाएर बचाइएको भए पनि यो वर्ष पहिरोले स्थानीयलाई थप समस्यामा पारेको उनले जानकारी दिए । यसका साथै हर्लुङ-जालपा-सप्तेश्वर बाक्सिला सडकमा पनि क्षति पुगेको स्थानीयले बताएका छन् ।

























