
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (आइतबार) राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेकाले आज राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइरहेको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै तराईका केही स्थानमा पनि राति मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । आज दिउँसो पनि बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याइएको थियो ।
आज राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हुन सक्ने भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।

























