
काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी (प्रेमी) टासी भनिने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोपमा गुरुङ र लामालाई गत असार २० गते पक्राउ गरिएको थियो । सशस्त्र प्रहरीको आन्तरिक छानबिनले उनीहरूलाई दोषी ठहर गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका बेला अब अख्तियारले पनि भ्रष्टाचारको कोणबाट अनुसन्धान थालेको हो । उनीहरूलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अख्तियारले विद्यालयको आर्थिक अनियमिततासम्बन्धी घटनामा संलग्नताको विषयमा थप प्रमाण संकलन तथा अनुसन्धान जारी राखेको जनाएको छ ।



















