
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच स्थानलाई लक्षित गरेर अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् । घिमिरेका अनुसार हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्र र देवानगञ्ज गाउँपालिका–३ को कप्तानगन्ज बजारलाई लक्षित गर्दै कर्फ्यु लागू गरिएको छ ।
कर्फ्यु लगाइएका स्थानमा कुनै पनि व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन् । आदेश उल्लंघन गरेमा एक हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद हुन सक्ने चेतावनी प्रशासनले दिएको छ ।

कर्फ्यु लागू गरिएका क्षेत्रको चार किल्लासमेत तोकिएको छ । हरिनगरा बजार क्षेत्रको पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगरा गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोड, भुटाहा बजार क्षेत्रको पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगरा गाउँपालिका कार्यालय तोकिएको छ ।
त्यसैगरी कप्तानगन्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौं सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा, घुस्की बजार क्षेत्रको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल तथा देवानगन्ज बजारको पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयलाई सीमाना निर्धारण गरिएको छ ।
प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे युवाहरुको एउटा समूह साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोसी नदीमा जल लिनलाई जाने क्रममा डिजे बनाउँदै कप्तानगन्ज चोकतर्फ जाँदै थिए । डिजेको आवाजलाई लिएर अर्को समूहका केही व्यक्तिले विरोध जनाएपछि विवाद सुरु भएको थियो । सुरुमा भनाभन भएको विवाद केहीबेरमै ठेलाठेलमा परिणत भयो र त्यसपछि दुई समुदायबीच हिंसात्मक झडप भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी कप्तानगन्जबाट पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेको थियो । तर, त्यसपछि दुवै समुदायका थप व्यक्तिहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा पुगेपछि अवस्था थप तनावग्रस्त बनेको प्रत्यक्षदर्शीले बताए ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय देवानगन्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको थियो । दुवै पक्षबाट प्रहरीमाथि समेत ढुंगामुढा गर्दै आक्रमण हुन थाल्यो । घटनामा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईसहित नेपाल प्रहरीका ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
राईको टाउकोमा पाँच टाँका लागेको छ । अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । ढुंगा, इँटा र सिसाले आक्रमण गर्दा धेरै जना सशस्त्र प्रहरीसमेत घाइते भएका छन् । घाइते भएका सशस्त्रको विवरण प्राप्त भएको छैन । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरेको थियो ।
यसैबीच, अवस्था नियन्त्रणबाहिर जाने भएपछि राति करिब १०ः४५ बजे घटनास्थलमा रहेको सशस्त्र प्रहरीको टोलीले गोली चलाएको हो । नेपाल र सशस्त्र प्रहरीबाट कति राउन्ड गोली चल्यो भन्ने बारेमा विस्तृत अनुसन्धान भइरहेको सुनसरी प्रहरीका निमित्त प्रमुख, डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनसाथ आइतबार राति ११ः२५ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गोली लागेर देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् । साथै, अन्य घाइतेहरु मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रवीन्द्र मेहता, अमितकुमार यादव तथा सुनीलकुमार मेहताको विराटनगरको न्युरो, विराट नर्सिङ, नोबेल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म प्राप्त विवरण अनुसार घटनामा नौ जना सर्वसाधारण, नेपाल प्रहरीका आठ जना र सशस्त्र प्रहरीका पाँच जना गरी कुल २२ जना घाइते भएका छन् । सुरक्षाकर्मीतर्फका घाइतेहरुको नामावली संकलन भइरहेको डीएसपी खड्काले बताए ।
उनका अनुसार सुनसरीका विभिन्न युनिट तथा कोशी प्रदेश प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी दंगा नियन्त्रण गण दुहबी लगायत विभिन्न स्थानबाट ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।
रातभर झडप र आक्रमणमा उत्रिएका दुवै समुदायका मानिसहरू हाल छुट्टाछुट्टै स्थानमा रहेका छन् । थप सुरक्षाकर्मीको उपस्थितिमा दुवै पक्षसँग छलफल र सम्झाइबुझाइ भइरहेको तथा अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
घटनापछि बसेको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले थप जनधनको क्षति हुन नदिन सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय गरेको छ । परिस्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले थप गोलीसमेत चलाउन सक्ने छन् ।


























